नवराज नेपाली
बागलुङ (गलकोट) साउन २५ गते । ढोरपाटन शिकार आरक्षले आन्तरिक राजस्व वृद्धि गरेको छ । बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षले आर्थिक वर्ष २०८०/८१को तुलनामा २०८१/८२मा ११ लाख ३७ हजार ९५५ रुपियाँले बढी राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा कार्यलयले ४३ लाख ४८ हजार ९५० रुपियाँ सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा ५४ लाख ८६ हजार ९५० रुपियाँ सङ्कलन गरेको लेखापाल बलराम आचार्यले बताउनुभयो ।
निकुञ्ज विभागको टेन्डर तर्फको गत वर्ष चार करोड ७१ लाखभन्दा बढी कुल राजस्व सङ्कलन भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा राजस्व घटेर २ करोड ७५ लाख ६० हजार चार सय सङ्कलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।
बढी मात्रामा सिकारबाट राजस्व सङ्कलन हुने गरेकोमा सिकारीबिच स्वस्थ प्रतिस्पर्धा हुन नसक्दा सिकारको मूल्य घटेसँगै निकुञ्ज विभागको राजस्वमा समेत कमी आएको पाइएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा सिकार खेल्नेबाट दुई करोड ७५ लाख ६० हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको छ । जहाँ अघिल्लो वर्ष सोही शीर्षकमा चार करोड २६ लाख ८८ हजार सात सय रुपियाँ सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा दुई सिजनमा गरी ३३ वन्य जन्तुको सिकार भएको हो ।
जसमा २१ नाउर र १२ वटा झारलको सिकार भएको छ । नाउरको अधिकतम मूल्य ६ लाख र झारलको अधिकतम तीन लाख ५० हजार रुपियाँमा सिकार भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले बताउनुभयो ।
आर्थिक वर्ष २०८०/०८१ मा नाउरको १८ लाखदेखि २३ लाखसम्म र झारलको ७ लाखदेखि १३ लाखसम्म मूल्यमा सिकार भएको सुवेदीले बताउनुभयो ।
सिकारसँगै कार्यालयले वनपैदावार विक्री वितरणबाट १५ लाख ७५ हजार २५ रुपियाँ, पर्यापर्यटनबाट एकतिस लाख ३१ लाख २१ हजार ५००, प्रशासनिक दण्ड सजाय र अन्य प्रशासनिकबाट सात लाख ९० हजार तीन सय ८० रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएको थियोे ।
ढोरपाटनमा आर्थिक वर्ष २०८१/०८२ मा अहिले सम्मकै स्वदेशी तथा विदेशी गरी २३ हजार ६ सय ९२ जना प्रर्यटक भित्रिएसँगै आन्तरिक राजसमा पनि वृद्धि भएको कार्यालयले जनाएको छ । आरक्षमा सात वटा सिकार गर्ने ब्लक रहेका छन् ।