रामकृष्ण बोहरा
बागलुङ, साउन २५ गते । पश्चिम बागलुङका कतिपय स्वास्थ्य संस्थामा आधुनिक मेसिन बिग्रदा पुरानो विधिको भरमा चलेका छन् । शिशुको धड्कन सुन्ने आधुनिक मेसिन ‘डप्लर’ बिग्रिदा पुरानो प्रविधि ‘फिटोस्कोप’को प्रयोग गर्नुपर्ने बाध्यता छ ।
राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार नहुँदा ढोरपाटन उपत्यका र ग्रामीण क्षेत्रका केही स्थानमा डप्लरको प्रयोग हुन सकेको छैन । ‘‘डप्लरले काम गर्दा गर्भवती महिलाको पेटभित्रको शिशुले श्वास लिए नलिएको र धड्कनको अवस्था प्रष्ट देखिन्छ, फिटोस्कोप भने डप्लर जस्तै प्रभावकारी छैन’’ निसीखोला गाउँपालिका वडा नं. ६ स्थित भलकोट स्वास्थ्य चौकीकी अनमी ढुकुटी पुनले भन्नुभयो, ‘‘डप्लर मेसिन बनाउने दक्ष प्राविधिक नहुँदा अलपत्र परेको हो ।’’
पुरानो सामग्री फिटोस्कोपले गर्भ जाँच र धड्कन थाहा पाउन धेरै समय लाग्ने अनमी पुनको भनाई छ । दाताले दिएका आधुनिक मेशिन मर्मत गर्न खर्च धेरै नलागे पनि दक्ष जनशक्ती नहुँदा मेशिनहरु अलपत्र परेको पुनले बताउनुभयो । आधुनिक मेशिन बिग्रिदा पुरानै विधिबाट काम गर्नुपरेको पुनले बाध्यता सुनाउनुभयो ।
बागलुङ जिल्लाका ६७ वटा बर्थिङ सेन्टरमध्ये २४ वटामा फेयरमेड फाउण्डेसनले डप्लर मेसिन सहयोग गरेको छ । बाँकी ४३ वटा बर्थिङ सेन्टरमध्ये गण्डकी प्रदेश सरकारको सहयोगमा ८ वटा र स्थानीय सरकारले ३६ वटा मेसिन उपलब्ध गराएका हुन् । विद्युत नभएको बर्थिङ सेन्टरमा डप्लर मेसिन प्रयोग गर्न कठिन छ ।
ढोरपाटन उपत्यकाको सामुदायिक स्वास्थ्य इकाई, गलकोट नगरपालिका–१० को रमुवा र काठेखोला गाउँपालिका–८ को कादेशमा नियमित विद्युतको अभाव छ । निसीखोला गाउँपालिका–५ को निसेलढोर इकाईमा भने विद्युत र उपकरणको अभाव छ । मेसिन भए पनि नियमित विद्युत नहुँदा उपकरणहरु प्रयोगमा समस्या आएको ढोरपाटन नगरपालिका–९ को सामुदायिक स्वास्थ्य एकाइकी अनमी सीता बुढाले गुनासो गर्नुभयो । एकाईमा विद्युत अभाव हुँदा जन्मेको शिशु तातो बनाउने मेसिन (बेबी वार्मर) पनि सञ्चालन हुन कठिनाइ भएको उहाँको भनाइ छ ।
नियमित गर्भ जाँचका लागि आउने महिलाहरु डप्लर मेसिन आएपछि ढुक्क भएर फर्कन पाएको बुर्तिवाङ अस्पतालकी वरिष्ठ नर्स पार्वती अर्यालले बताउनुभयो । डप्लरले छोटो समयमा सहज सेवा मिल्ने भएकाले परम्परागत फिटोस्कोपको भर पर्न नहुने उहाँको भनाइ छ । ‘‘प्रविधिको विकासले ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य सुधारमा प्रभावकारी भूमिका खेलेको छ’’ वरिष्ठ नर्स अर्यालले भन्नुभयो ।