निराजन परियार
चौमाला (कैलाली), साउन २४ गते । बच्चाहरूलाई ललाई फकाइ गरेर कानमा लगाएकोे सुनका मुन्द्रा लुट्न थालेपछि कैलालीको धनगढी उपमहानगरपालिका-१, नैनादेवी टोलका स्थानीय त्रसित भएका छन् ।
बच्चाहरूलाई फकाउने र आफुसँग नजिक बनाएपछि एकान्तमा र्याएर कानमा लगाएको सुन लुट्ने गरेको घटना बाहिरिएको हो । लुटेराहरू घरमा नजिक आउने, होटलमा चिया खाने बाहनामा बच्चासँग नजिक हुने र बच्चालाई अम्भा, फलफूल दिने र कानमा किरा छ भनेर लगाएका सुनका मुन्द्रा लुट्ने, नयाँ शैली सार्वजनिक भएको छ ।
साना बालबालिकालाई ललाई फकाई, विभिन्न डरत्रास देखाएर कानमा लगाएका सुनको मुन्द्रा चोरी हुने गरेको मौखिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी एवं प्रवक्ता राजकुमार सिंहले जानकारी दिनुभयो । उहाँले चोरी गर्ने व्यक्तिको हुलिया थाहा नहुदा र सिसिटिभी क्यामरा उक्त क्षेत्रमा नभएको कारणले खोजी गर्न गाह्रो भएको बताउनुभयो ।
धनगढी बजार आसपास क्षेत्रबाट बच्चाहरूसँग नजिकभएर बालबालिकाकाले लगाएको कानको मुद्रा लुटेर छाडिदिने गरेको धनगढी उपमहानगरपालिका-१, नैनादेवी टोलका स्थानीय बिस्ना साउँदले बताउनुभयो ।
उहाँले ३ दिन पहिले घर नजिकै आफ्नो ६ वर्षको छोरालाई कानमा किरा पसेको छ निकाली दिने भन्दै अम्भा दिएर सुनको मुन्द्रा चोरेर लगेको बताउनुभयो । उहाँको मात्र होइन पछिल्लो समयमा धनगढी वडा नम्बर १ नैनादेवी टोलमा मात्र ७ वटा बच्चाको कानको मुन्द्रा र बाला चोरी भएको छ ।
पछिल्लो समययता धनगढी उपमहानगरपालिकाका केही वडामा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रस्त बन्दै गएका छन् । बालबालिकालाई काखमा लिएर फकाउने, बिस्कुट दिने तथा गुलियो चकलेट दिएर फकाई गर्ने गरेका छन् ।
स्थानीयहरूले कानको मुन्द्रा र सुनका बालाहरू चोरीका घटना एक पछि अर्को बढ्न थालेपछि अपहरण नै गर्छ कि भनेर डर त्रासले बच्चाहरूलाई लगाएका सुनका बाला र मुन्द्रा निकालेर राखेको स्थानीय पुष्पा धामीले बताउनुभयो ।
बालबालिकाहरूलाई फकाउँदै सुनका मुन्द्रा चोरी भएपछि स्थानीयले प्रहरीमा खबर समेत गरेका छन् । तर समयमै चोरीबारे प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरीले चासो नदिएको स्थानीयको आरोप छ ।
एक हप्ताको अवधिमा एउटै टोलमा ७ जना बालबालिकाको कानको मुन्द्रा र हातमा लगाएका बालाहरू चोरी भएका हो । आठ वर्षीया रितु सापकोटाको कानमा लगाएको मुन्द्रा त्यहि शैलीमा चोरी भएको थियो ।
सुरक्षा निकायले उपमहानगरपालिकाका मुख्य स्थानमा मात्रै काम गर्ने गरेको पाइए पनि सडकका भित्री गल्लीमा भने दिनप्रतिदिन चोरीका घटना हुन थालेका र रातिको समयमा प्रहरीको गस्ती पनि निकै फितलो हुन थालेपछि दैनिकजसो चोरी बढ्न थालेको छ ।
दिन दहाडै र रातिको समयमा पनि चोरी बढेको भन्दै स्थानीयले शान्ति सुरक्षाको माग समेत गरेका छन् । धनगढी मुख्य बजारबाट र जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक किलोमिटरभन्दा कम दूरीमा रहेको वडा नं. १ नैनादेवी टोलमा नँया शैलीमा दिनदहाडै चोरीका घटना बढ्न थालेपछि स्थानीय चिन्तित भएका छन् ।