सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, साउन २४ गते । नेपाली सेनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका अन्तर्गतको खुर्कोटस्थित सुनकोशी नदीमा निर्माण गरिएको बेलिब्रिजको मर्मत सम्पन्न गरेको छ । सिन्धुली र रामेछाप जिल्लालाई जोड्ने उक्त पुलमा प्रयोग गरिएका नटबोल्ट खुस्किएर जोखिम बढेसँगै प्राविधिक परीक्षणलगायतका काम गरी मर्मत गरेको सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको ९ नम्बर बाहिनीले जनाएको छ । बाहिनीपति युवराज कार्कीका अनुसार सेनाको मध्यपूर्वी पृतना हेड क्वाटर अन्तर्गत रहेको कालिसिद्धी गणको प्राविधिक टोलीले बिहीबार र शुक्रबार उक्त पुलको मर्मत गरेको हो ।
यातायातका साधनको चाप बढेसँगै बेलिब्रिजमा कसेको नटबोल्ट खुस्किएर बिछ्याइएका पाता खुकुलो भएको, पुल हल्लिन थालेको, वारपार गर्न जोखिम बढेको स्थानीयले बताएका छन् । खुर्कोट–मन्थली सडक अन्तर्गत निर्माण भएको खुर्कोट पुलको दुई वटा स्पानमध्ये गत वर्ष असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले रामेछापतर्फको आधा पुल अर्थात् ५० मिटरको स्पान बगाएपछि त्यहाँ नेपाली सेनाले लगत्तै असोज २० गतेदेखि बेलिब्रिज जडान गर्न सुरु गरको थियो । प्राविधिक लागत अनुसार उक्त पुलको भारवहन क्षमता २२ टन भएपनि हाल १५ टन क्षमताको सवारी साधन मात्रै आवतजावत गर्न पाउने व्यवस्था गरिएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीले जनाएको छ ।
उक्त पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्ने बताइए पनि बढी तौलका साधन पुलबाट वारपार गर्ने गरेको स्थानीय बताउँछन् । एसियाली विकास बैँकको १७ करोड रुपियाँभन्दा बढी सहयोगमा सडक सञ्जाल सेक्टर आयोजनाले सुनकोशी नदीमा दुई वटा स्पानको उक्त पुल आव २०७१/७२ मा निर्माण गरेको थियो ।
रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बिपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल वरदान साबित भएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर बराल बताउनुहुन्छ । खुर्कोटमा बेलिब्रिज निर्माणसँगै हिमाल, पहाड र तराईको सम्बन्ध जोडिएको उहाँको भनाइ छ ।