• २४ साउन २०८२, शनिबार

मानव तस्करीको जालो

दिल्लीमा अलपत्र नेपाली महिलाको उद्धार

blog

भैरहवा समाचारदाता

भैरहवा, साउन २४ गते । खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान सरकारले लगाएको प्रतिबन्धपछि मानव तस्करले रणनीति बदल्न थालेका छन् । भारतको खुला सीमा र त्यहाँका विमानस्थललाई नयाँ मार्गका रूपमा प्रयोग गर्न थालेका हुन् । बिहीबार दिल्ली हुँदै खाडी मुलुक पठाउने तयारीमा रहेका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी, ओमान र दुबईलगायतका खाडी मुलुकमा लैजान लागिएको खुलेको छ । दिल्लीस्थित नेपाली दूतावास, स्थानीय प्रहरी र मानव बेचबिखनविरुद्ध व्रिmयाशील संस्था किन इन्डियाको संयुक्त प्रयासमा महिपालपुरस्थित चार होटेलबाट महिलालाई सुरक्षित निकालिएको हो । उनीहरूलाई बिहीबार साँझ सुनौली–भैरहवा नाकामार्फत स्वदेश ल्याइएको छ ।

संस्थाका निर्देशक नवीन जोशीका अनुसार पीडितमध्ये तीन महिलाले व्हाट्सएपमार्फत सम्पर्क गर्दै आफूहरूलाई होटेलबाहिर निस्कन नदिएको र बन्धक जस्तो राखिएको गुनासो गरेका थिए । उहाँले तत्कालै उद्धार टोली परिचालन गरेर सबैलाई सुरक्षित पारिएको बताउनुभयो । उद्धार गरिएका महिलासँग पासपोर्ट वा भारतस्थित नेपाली दूतावासबाट प्रदान गरिने आवश्यक कागजात थिएनन् । तीन महिलाको पासपोर्ट त भारतमै बनाएर उडाउन तयारी गरिएको बताइएको छ । पीडितहरू २० देखि ४० वर्ष उमेर समूहका छन् । मकवानपुर, दाङ, सुनसरी, मोरङ, नुवाकोट, रुपन्देही, अर्घाखाँचीसहित २३ जिल्लाबाट आएका थिए । उनीहरूलाई तीन तीन र पाँच पाँच जनाको समूहमा विभिन्न मिति र नाका प्रयोग गरेर दिल्ली पु¥याइएको थियो ।

नेपालमा रोजगारीको अभाव र खाडी मुलुकमा घरेलु कामदारको उच्च मागको परिस्थितिलाई तस्करले अवसरका रूपमा उपयोग गरिरहेका छन् । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’ मा पठाउने पुरानो तरिका कडा भएपछि अब उनीहरू भारतमार्फत दिल्ली वा अन्य सहरको विमानस्थल प्रयोग गर्दै खाडी मुलुक विशेष गरी कुवेत, ओमान, दुवई र साउदी पठाउने प्रयास गरिरहेका छन् ।

तर भारतको विमानस्थलबाट खाडी जाने नेपाली महिलालाई पनि भारतस्थित नेपाली दूतावासबाट ‘एनओसी’ आवश्यक पर्छ । आवश्यक कागजातबिनै लैजाने प्रयास स्वयं मानव तस्करीसँग प्रत्यक्ष रूपमा जोडिएको घटनाका रूपमा हेर्न सकिने जोशीको भनाइ छ । यो पछिल्लो उद्धारसँगै दुई साताभित्रै दिल्लीबाट नेपाल फर्काइएका नेपाली महिलाको सङ्ख्या ८७ पुगेको छ । अधिकारकर्मीले यो तथ्यलाई मानव तस्करीको स्वरूप र मार्ग दुवै बदलिँदै गएको स्पष्ट सङ्केतका रूपमा लिएका छन् ।