विजयकुमार साह
ढल्केबर, साउन २३ गते । धनुषाको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोसहितको टोलीले शुक्रबार पानीको स्रोत चुरे तथा भावर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । चुरे र भावर क्षेत्रमा भएका खोला तथा मुहानबाट बगेर खेर गइरहेका पानीलाई सिँचाइ तथा खानेपानीका लागि प्रयोग ल्याउन उहाँहरुले स्थलगत अवलोकन गरेका हुन् ।
नगर प्रमुख महतोले भूमिगत पानीको दोहन कम गर्न र चुरे क्षेत्रबाट बगेर खेर गइरहेको पानीलाई सदुपयोगमा ल्याउन औरही खोलाको मुहानको स्थलगत अवलोकन गरिएको बताउनुभयो । उहाँले खेर गइरहेको पानीलाई सिँचाइ र खानेपानीका लागि प्रयोगमा ल्याउन सकिने सम्भावना रहेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, "औरही खोलामा प्रशस्त पानी छ । उक्त पानी बगेर त्यसै खेर गइरहेको छ । यदि औरही खोलाको पानी पाँच सय मिटर पश्चिममा रहेको खहरे खोला बसहीमा झार्न सकियो भने सिँचाइका लागि पानीको उपलब्धता बढ्छ । त्यस्तै, औरही खोलामा ठाउँ ठाउँमा ड्याम निर्माण गरेर खानेपानीका लागि पानी प्रयोगमा ल्याउन सकिन्छ ।" उहाँले अध्ययनका लागि प्राविधिक र विज्ञ टोली पठाउने बताउनुभयो ।
नगर प्रमुख महतोले मिथिला नगरपालिका भएर बग्ने औरही नदीलगायतका नदीनालामा तटबन्ध निर्माण गरेर वर्षाको पानी चुरे क्षेत्रमै रोक्न सकियो भने बटेश्वर, छिरेश्वर, लक्ष्मीनियाँ र जनकपुरधामलगायत तल्लो तटीय क्षेत्रको धेरैजसो स्थानको भूमिगत जलस्तर बढ्ने जानकारी दिनुभयो । उहाँले यसका लागि तल्लो क्षेत्रका स्थानीय तहले पनि आर्थिक लगानी लगाउनुपर्ने उहाँका भनाइ छ ।
उहाँले भन्नुभयो, "चुरे विद्हरुका अनुसार चुरेको पानी चुरे क्षेत्रमा रोक्न सकियो भने जमिनमुनि पानीको पुनर्भरण हुन्छ । त्यसले तल्लो क्षेत्रमा भूजलको सतह माथि आउँछ र अहिले देखिएको पानीको सङ्कट समाधान हुन्छ ।"
प्राविधिक रामविरोध महतोका अनुसार चुरे तथा भावर क्षेत्रका खोलामा पानी रोक्न सकिने संरचना निर्माण गर्न सके जमिनमुनि पानीको भण्डारण बढ्छ । जसले गर्दा चापाकल र इनार सुक्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्न मद्दत पुर्याउँछ । औरही खोलामा यसअघि पनि यस्तो सम्भावनाको अध्ययन भएको उहाँले बताउनुभयो ।
प्राविधिक महतोले अव्यवस्थित सहरीकरण र वन फँडानीका कारण जमिनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर राख्न नसक्नुका कारण भूमिगत पानीको सतह तल हुँदै गएको बताउनुभयो । तराईका जिल्लामा पहिलाभन्दा दोब्बर तेब्बर गहिराइमा पाइप गाड्दा मात्रै चापाकलमा पानी आउने गरेको छ । त्यसैले तीनै तहका सरकार समयमै यसप्रति आवश्यक कदम चालेन भने भविष्यमा तराईमा पानीको चरम अभाव हुने उहाँको भनाइ छ ।
तराईका निम्ति चुरे क्षेत्र जल भण्डार भएको बताउँदै उहाँले चुरे भएर बग्ने नदीनालामा तटबन्ध निर्माण गरेर वर्षाको पानी चुरे क्षेत्रमै रोक्न सके ढल्केबरदेखि तल्लो तटीय क्षेत्रको धेरैजसो स्थानको भूमिगत जलस्तर बढ्ने जानकारी दिनुभयो ।