• २३ साउन २०८२, शुक्रबार

आउने संसद् अधिवेशन नयाँ संसद् भवनबाटै

blog

संसदीय समितिको बैठकमा कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित सांसदहरू । तस्बिर : रासस

काठमाडौं, साउन २३ गते । आउने संसद्को अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिइएको छ । 

कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको काम समयमै सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन पनि दिनुभएको छ । 

साथै उहाँले विगतका कमी कमजोरी दोहोरिन नदिने गरी काम भइरहेको जानकारी पनि दिनुभएको छ । 

सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्नेसम्बन्धी छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । 

छलफलका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले समयमै काम सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन पनि दिनुभयो । 

समितिका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा लापरवाही गर्ने सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । 

थप गरिएको अवधिभित्रै काम सक्ने गरी विश्वसनीय कार्ययोजनाअनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय तथा विभागबाट अनुगमन भइरहेको उहाँले बताउनुभयो ।

“नयाँ संसद् भवनको काम समयमै नसकिएको बारे सबै जानकार छौंँ । तोकिएको समयमा काम नगर्नेमाथि मन्त्रालयले कडाइ गरिरहेको छ र काम भइरहेको छ ।

संसद् भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ । सरकारले विगतका कमी, कमजोरीलाई नियालेर उक्त कमजोरी अब दोहोरिन नदिने गरी काम गरिररहेको छ,” उहाँले भन्नुभयो । 

काम समयमै सक्न मन्त्रालयदेखि सम्बन्धित इञ्जिनीयर, महानिर्देशक र आयोजना प्रमुखलाई बोलाएर निर्देशन दिइसकेको कार्यवाहक प्रधानमन्त्री सिंहले बताउनुभयो ।

मन्त्रालयका सचिव गोपाल सिग्देलले गत वर्ष पुस दोस्रो साता सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर काम भइरहेको जानकारी दिनुभयो ।

आउने अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको उल्लेख गर्दै उहाँले  तालिकाअनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । समितिका सदस्यहरुले आउने अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्ने गरी काम सक्नुपर्नेमा जोड दिनुभयो। रासस