अस्मिता पोखरेल
धादिङबेंसी, साउन २३ गते । भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन हुनेहरुमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन् ।
उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार खोजीका लागि गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई आग्रह गरिएको छ ।
साउन २० गते धराली बजारमा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ । उनीहरू पनि त्यहीँ फसेको हुनसक्ने आशङ्का गरिएको छ ।