• २३ साउन २०८२, शुक्रबार

९७ लाखमा प्रधामन्त्री रोजगार कार्यक्रम सम्पन्न

blog

वडा नम्बर ९ को यार्सा गुठी गाउँमा रोजगार दाताबाट निर्मित गारेटो बाटो । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 
दोलखा, साउन २३ गते ।
सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिकामा ९७ लाखभन्दा बढीको लागतमा प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न काम सम्पन्न भएका छन् ।  

आर्थिक वर्ष २०८१/०८२ मा नेपाल सरकारको ३४ लाख र विश्व बैंकको ६३ लाख ३९ हजार गरी कुल ९७ लाख ३९ हजारका विभिन्न काम सम्पन्न भएका कार्यक्रम सयोजक डम्बरप्रसाद ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सूचीकृत भएका एक हजार ७१६ बेरोजगारमध्ये ७६ जनाले रोजगार प्राप्त गरेका हुन् । रोजगार प्राप्त ती ७६ जनाबाट गोरेटो बाटो र सिँडी निर्माण, सडक मर्मत, सोलिङ र नाला निर्माणको काम भएको छ । रोजगार प्राप्तले दैनिक ८०८ रुपियाँका दरले सय दिनको पारिश्रमिक पाएका छन् ।

दक्ष जनशक्ति उत्पादनका लागि सूचीकृतमध्ये ३६ जनालाई इलेक्ट्रिकसम्बन्धी, २४ जनालाई सडक मर्मत, २० जनालाई ब्युटिसियन र २५जनालाई प्लम्बिङसम्बन्धी सिपमूलक तालिम प्रदान गरिएको कार्यक्रम सयोजक ओलीले जानकारी दिनुभयो ।

आयआर्जनले वर्षभरिमा छ महिनासम्म खान नपुग्ने आर्थिक कमजोर भएकाहरु बेरोजगारमा सूचीकृत हुने गर्दछन् । यो वर्ष रोजगारमा नौ वटै वडाबाट अति विपन्नमध्ये ७६ जना छनोट भएका हुन् ।  सिपमूलक तालिममा नगरले तालिम लिन सूचना प्रवाह गरी आएका निवेदनहरुमध्ये सबै वडाका पर्ने गरी १०५ छनोट मा १०५ जना  गरी १८१ जनाले सुविधा पाएका छन् । बजेट अभावमा सूचीकृत सबैले सुविधा पाउन सकेनन् ।