• २२ साउन २०८२, बिहिबार

कैदीबन्दी छालाको रोगबाट प्रभावित

blog

तनहुँ कारागारको प्रशासनिक भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन २२ गते ।
तनहुँ कारागारका कैदीबन्दीहरुमा छालाजन्य रोगको सङ्क्रमण फैलिएको छ  ।  क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोचिएर सुत्नु पर्दा रोग सङ्क्रमण बढ्दै गएको तनहुँ कारागार प्रशासनले जनाएको छ ।

करिब ६० जनामा दाद, लुतोलगायतका छालासम्बन्धी समस्या देखिएको  कारागारका अहेब श्यामसिं बोहराले जानकारी दिनुभयो । अन्य रोगभन्दा हाल सबैभन्दा बढी छालाको रोगबाट प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

बोहोराका अनुसार पुरुषतर्फ प्रेसरका १५, सुगरका दस जना दमका दुई जना क्षयरोगका एक र बाथरोगका दुई र एचआइभीका दुई जना बिरामी छन् । त्यसैगरी महिलातर्फ दुई जना सुगर र एक प्रेसरका बिरामी रहेका छन् ।

कैदीबन्दीलाई दैनिक ओपिडी सेवाबाट सेवा प्रवाह हुन्छ । बोहोराले  भन्नुभयो, “सामान्य प्रकृतिका बिरामीका यही उपचार हुन्छ, जटिल प्रकृतिका बिरामीलाई प्रदेश अस्पताल दमौलीमा रिफर गर्ने गरिएको छ ।”

एक सय ३५ जना क्षमताको कारागारमा अहिले २५ महिलासहित तीन सय २१ जना छन् । लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि यस कारागारमा तीस जना कैदीबन्दी थपिँदा कोचिएर सुत्नु पर्दा सरुवा रोगको सङ्क्रम फैलिँदै गएको कारागारले जनाएको छ । क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी राखिनु पर्दा व्यवस्थापनमा कठिनाई भोग्नु परेको कारागारले जनाएको छ ।