वार्सा, साउन २१ गते । पोल्यान्डका नयाँ राष्ट्रवादी राष्ट्रपति कारोल नावरोकीले ‘सार्वभौम पोल्यान्ड’को आह्वान गर्दै बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण कार्यक्रमपछि उहाँले ‘देशलाई पतनतर्फ धकेल्नेविरुद्ध लड्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक ४२ वर्षीय नावरोकीले गत जुन १ मा भएको निर्वाचनमा युरोपेली परिषद्का पूर्वअध्यक्ष तथा प्रधानमन्त्री डोनाल्ड टस्कको इयु समर्थक सरकारलाई ठुलो झट्का दिनुभएको थियो । “म ती मानिसहरूको आवाज हुने छु जसले सार्वभौम पोल्यान्ड चाहन्छन् जुन इयूमा छ, तर पोल्यान्ड जुन इयू होइन,” उहाँले आफ्नो पदको शपथपछि सांसदहरूलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।
उहाँले २० औँ शताब्दीको सुरुतिर पोल्यान्डको प्रधानमन्त्री रहनुभएका इग्नेसी पाडेरेव्स्कीलाई उद्धृत गर्दै भन्नुभयो, “हामीले देशलाई पतन र विनासतर्फ धकेल्नेहरूसँग लड्नुपर्छ ।” इतिहासकारबाट नव राजनीतिज्ञ हुनुभएका नावरोकीले टस्कको सरकारलाई उत्तर-साम्यवादी पोल्यान्डको इतिहासमा ‘सबैभन्दा खराब’ भन्नुभएको छ ।
-राष्ट्रियताको सवालमा कसैसँग घुडा नटेक्ने-
संसद बाहिर हजारौँ मानिस नावरोकीलाई समर्थन जनाउन उपस्थित भएका थिए । “नावरोकीले ब्रसेल्सका सामु घुँडा टेक्नुहुनेछैन”, ७५ वर्षीया प्रशंसक जान स्मोलिन्स्कीले एएफपीसँग भन्नुभयो, “उहाँ राष्ट्रको लागि रगत र मासुजस्तै आवश्यक एक राष्ट्रप्रेमी व्यक्ति हुनुहुन्छ ।” पेसाले डेन्टल असिस्टेन्ट रहनुभएकी ५७ वर्षीया मारिएटा बोर्जले नावरोकी क्याथोलिक भएकाले उहाँले क्रिश्चियन मूल्य मान्यतालाई कायम राख्नुहुने छ भन्ने कुरा हाम्रा लागि महत्त्वपूर्ण रहेको छ ।
चुनावी अभियानका क्रममा नावरोकीले पोल्यान्डमा गर्भपतनमा लगाइएको पूर्ण प्रतिबन्धलाई खुकुलो बनाउने वा समलिङ्गी नागरिक साझेदारीलाई अनुमति दिने सम्भावनालाई अस्वीकार गर्नुभएको थियो । उहाँको विरोधमा उत्रिएको करिब २० जना प्रदर्शनकारीको एउटा सानो समूहले ‘पोल्यान्डका लागि कालो दिन’ भन्दै कालो गुलाफ हातमा बोकेर प्रदर्शनमा सहभागी भएको छ ।
सेवानिवृत्त अर्थशास्त्री ७२ वर्षीय स्टानिस्लावा स्क्लोडोव्स्काले आफ्नो देशको निर्वाचनले ‘पोल्यान्डको परम्परागत ध्रुवीकरणबाट बाहिरिने जोखिम निम्त्याएकोे’ बताउनुभयो । चुनावी अभियानका क्रममा ट्रम्पको समर्थन लिन वासिङ्टन पुगेका नावरोकीले उदारवादी उम्मेदवार राफल ट्रजास्कोव्स्कीलाई पराजित गर्दै झिनो मतान्तरसहित विजय हुनुभएको थियो ।
परिणामले छिमेकी युक्रेनको प्रमुख समर्थक युरोपेली सङ्घ र नेटो सदस्य राष्ट्रमा उच्च स्तरको राजनीतिक ध्रुवीकरण देखाएको छ । पोल्यान्डका राष्ट्रपतिहरूले कानुनको सुरुवात र भिटो प्रयोग गर्न सक्छन् र देशको विदेश र रक्षा नीतिहरूमा केही प्रभाव पार्न सक्छन् । रासस/एएफपी