बबई समाचारदाता
बबई (बर्दिया), साउन २१ गते । बर्दियाको गुलरिया नगरपालिका–११ स्थित सुरजगौडी गाउँका स्थानीय बासिन्दा वर्षा सुरु भएपछि रातभर जाग्राम बस्न थालेका छन् । वर्षापछि नदीमा आउने बाढीले गाउँ नै सङ्कटमा परेको छ ।
सुरज गौडी गाउँको पश्चिमतर्फबाट बग्ने बबई नदीमा बाढी आउने त्रासका कारण अहिले सुरज गौडी गाउँका करिब तीन सय परिवार बाढीको उच्च जोखिममा छन् । बबई नदीमा आउने बाढीका कारण जहिले पनि बर्सातको समय सुरु भएपछि उनीहरू रातभर जाग्राम बस्न बाध्य भएका हुन् । सुरज गौडी गाउँमा बसोबास गर्ने स्थानीयले बर्सौंदेखि नदी व्यवस्थापनको काम गर्न अनुरोध गर्ने गरे पनि त्यसको सुनुवाइ हुन सकेको छैन ।
चुनावको बेला गाउँमा पुग्ने जुनसुकै राजनीतिक दलका नेताहरूले आफूहरूलाई नदी व्यवस्थापनको काम गरेर सुरक्षित बनाउने आश्वासन दिए पनि कसैले त्यसतर्फ ध्यान नदिएको गुनासो स्थानीयको छ । पूर्वपश्चिम हुलाकी सडकको किनारमा पर्ने गाउँ भए पनि अहिले बबई नदीमा तटबन्ध नहुँदा बर्सातको समयमा त्रासमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । २०७४ सालमा बबई नदीमा बाढी आउँदा घरभित्र पाँच–छ फिटसम्म पानी पसेको भए पनि सुरजगौडी गाउँ अहिलेसम्म सुरक्षित हुन सकेको छैन ।
गुलरिया नगरपालिका–११, सुरजगौडी गाउँका गोविन्द चमारले नदी व्यवस्थापनको काम गरिदिन पटक पटक अनुरोध गरेको भए पनि सुनुवाइ नभएका कारण गाउँ नै नदीको चपेटामा परेको बताउनुभयो । सुरजगौडी गाउँ नदीभन्दा होचो भागमा छ । नदीमा बाढी आउनासाथ सबैभन्दा पहिले नदीको पानी सुरजगौडी गाउँतर्फ जान्छ । त्यसैले पनि गाउँ जोखिममा छ ।
स्थानीय जैनुद्धिन गद्धीले गाउँ नै जोखिममा हुँदा समेत सरकार र सरोकारवाला निकायले नहेरेको बताउनुभयो । मधेशी समुदायको बस्ती रहेको इन्द्रपुर गाउँमा बाढी पस्नासाथ यातायात सम्पर्कसमेत विच्छेद हुने गरेको छ । नदी नै पूरै गाउँतर्फबाट बग्छ । २०७१, ७४ र ७९ मा आएको बाढी गाउँ पसेपछि स्थानीयको अन्नपातसमेत बगाएको थियो । गाउँका स्थानीयले शुद्ध पानीसमेत पिउन पाएका थिएनन् । सुरजगौडीका स्थानीय साविर गद्धीले बाढीको समय सुरु भएपछि आफूहरू बाढीको त्राससँगै रातभरि नदीतर्फ हेर्ने गरेको बताउनुभयो ।