• २१ साउन २०८२, बुधबार

पाँच हजार तीन सय कामदार माग

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन २१ गते । दक्षिण कोरियामा सन् २०२५ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत पाँच हजार तीन सय नेपाली श्रमिकलाई लैजान आवेदन माग गरेको छ । दक्षिण कोरिया सरकारको श्रम संसाधन विभागले सन् २०२५ मा उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न यो सङ्ख्यामा कोटा मागेको हो ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार दक्षिण कोरियामा साना तथा मझौला उद्योगमा विदेशी श्रमिक अभाव हुन थालेपछि पाँच हजार तीन सयमध्ये उत्पादनमूलक क्षेत्रका लागि तीन हजार पाँच सय र कृषि तथा पशुपालन क्षेत्रका लागि एक हजार आठ सय जनाको लिइने छ । 

इपिएस शाखाका अनुसार आवेदन यही साउन २६ देखि ३१ सम्म दिन सकिने छ । हाललाई पाँच हजार तीन सय माग गर्ने गरी कोटा तोकिए पनि कोरियाका रोजगारदाताको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने पनि सो शाखाले जनाएको छ ।