गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २० गते । तिजपर्वलाई लक्ष्य गरी गायिका धनकुमारी थापा ‘सरु’ ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याउनुभएको छ । चर्चित हास्यकलाकार किरण केसी ‘रातामकै’ र दीपाश्री निरौला अभिनीत गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । वरिष्ठ गायक बमबहादुर कार्कीले गीत सार्वजनिक कार्यक्रममा गीतको शब्द, सङ्गीत र अभिनयको प्रशंसा गर्नुभयो । यसै गरी निर्देशक तथा नायिका दीपाश्रीले गीतको शब्द, सङ्गीत र स्वरका कारण आफू अभिनय गर्न तयार रहेको भनाइ राख्नुभयो ।
हास्य कलाकार केसीले पनि जनजिब्रोमा सधैँ झुन्डिने किसिमको गीत तयार भएकाले अभिनयका लागि तयार भएको बताउनुभयो । यसै गरी गायिका धनकुमारीले टिकटकलाई गलत प्रयोग गर्नेभन्दा पनि समाजका लागि सन्देश प्रवाह गर्ने सकारात्मक ‘प्लेटफर्म’ बनाउन जरुरी रहेको र तिजपर्वलाई शिष्ट एवं मर्यादित रूपमा मनाउन सन्देश प्रवाह गर्ने गरी गीत बनेको जानकारी दिनुभयो ।
धनकुमारी र मनोजसिंह धामीको स्वरमा रहेको गीतको शब्द र सङ्गीत धामीकै छ । गीतको भिडियो प्रकाश भट्टको निर्देशनमा बनेको हो ।