रमेश पौडेल
पोखरा, साउन १९ गते । कार्यवाहक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावना अनुरुप कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमा ढिलाइ भएको बताउनु भएको छ ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित कार्यालय भवनको पोखरामा उद्घाटन गर्नुहुँदैन उहाँले मुलुक आर्थिक तथा भौतिक विकासको चरणमा अगाडि बढेको जिकिर गर्नुभयो ।
सहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले सरकारले पूर्वाधार र विकासलाई अझै गुणस्तरीय बनाई छिटो र छरितो तवरले योजनाहरू अगाडि लैजाने नीति लिएको उल्लेख गर्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री सिंहले तीन तहको सरकारको मूल्य र मान्यता अनुरूप यसपटक ३ करोडभन्दा मुनिका योजनाहरू सर्शततर्फ नराखिएको दाबी गर्दै तीनै तहका सरकार बिच समन्वय भएमा मात्र कुनैपनि योजना दोहोरो नपर्ने बताउनुभयो ।
त्यसैगरी, गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले संघीयता अनुरुप बजेट आउन नसकेको बताउँदै सानातिना योजनामा पनि संघीय सरकार हाबी भएको गुनासो राख्नुभयो । उहाँले एकै प्रकृतिको कार्य तीनै तहबाट हुँदा प्रशासनिक खर्च बढेको उल्लेख गर्नुहुँदै यस्ता योजनाले प्रतिफल प्राप्त गर्न नसेकेको बताउनुभयो ।
त्यस्तै, पोखरा महा नगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारी भवनको नक्सा पास गरेर भवन आचारसंहिता अनुरुप निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघीय सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, महानिरीक्षक मचाकाजी मर्हजन, संघीय सहरी विकास कार्यलय पोखराका प्रमुख सुनिता श्रेष्ठ र युक्त प्रसाद शर्मा लगायतले भवन निर्माणका बारेमा जानकारी दिनुभएको थियो ।
चार करोड १७ लाख ३१ हजार (भ्याट बाहेक) को लगानीमा निर्माण गरिएको चार तले सो भवन ३ सय वर्गमिटरमा रहेको छ ।
सरकार गठबन्धन मर्म अनुसार नै चलेको छ
यसैगरी, कार्यवाहक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार गठबन्धनको मूल्य र मान्यताअनुरुप अगाडि बढेको बताउनुभएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले दुई ठूला पार्टीहरुको सहकार्यले मुलुकमा स्थायी सरकार र सुशासन कायम रहेको दाबी गर्नुभयो ।
उहँले भन्नुभयो, ‘‘गठबन्धन सरकारमा कतिपय बाध्यता भए तापनि दुवै पार्टीले यसलाई सहज रुपमा लिएर अगाडि बढेको छ । यो सरकार सुशासनको पक्षमा उभिएको छ ।’’
सोही सन्दर्भमा उहाँले कतिपय कार्यकर्ताले नेपाली कांग्रेस सरकारमा बसेर केही गर्न सकेको छैन् र सरकारमा एमाले कै हाबी भयो भनिरहँदा एमालेभित्र पनि कांग्रेस हाबी भएको गुनासो आउने बताउनुभयो ।
नेपाली कांग्रेसका नेतासमेत रहनुभएका केन्द्रीय सदस्य सिंहले समय र परिस्थिति अनुरुप मुलुकप्रति जिम्मेवार भई वर्तमान सरकारमा कांग्रेस जानु परेको स्पष्ट पार्नुभयो ।
उहाँले कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीलाई संस्थागत रुपमा अगाडि बढाई आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताउँदै नेता सिंहले राजनीतिमा लिने होइन, दिने ठाउँ हो भन्ने भावना भएका कार्यकर्तालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
कांग्रेसको महाधिवेशन नजिकिँदै गरेको सन्दर्भमा पार्टीको महाधिवेशनबाट महासमिति, पालिकालगायत सबै ठाउँमा नेतृत्व चयन गर्दा बुझेका, जानेका र योगदान गर्न सक्ने व्यक्तिलाई छनौट गर्नुपर्ने भनाइ राख्दै उहाँले महाधिवेशन चारै वर्षमा हुन पनि नसक्ने खुलासा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘मैले पार्टीमा सबै कुरा पाएको छु, पार्टीले सबै कुरा दिएको छ मेरो कुनै गुनासो छैन, पार्टीलाई अझै बलियो र संस्थागत बनाउन मेरो पहल जारी नै रहनेछ भन्ने कार्यकर्ता छुट्नुहुँदैन ।’’
नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका ऐतिहासिक विरासतलाई बिर्सदै जाँदा पार्टी संगठन कमजोर बनिरहेको बताउनुुभयो ।
उहाँले नेपाली कांग्रेस सधैँ प्रजातन्त्रको पक्षमा रहेकाले लोकतन्त्र मात्र भनेर हिँड्न नहुने बताउनुभयो । मुलुकमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्नुहुँदै नेता शर्माले भ्रष्टाचार नियन्त्रणसँगै जनताको अपेक्षालाई सम्बोधन गर्ने ढंगबाट सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।
पार्टीका केन्द्र, प्रदेश र स्थानीय तहका नेता तथा कार्यकर्ताको उपस्थित रहेको सो कार्यक्रममा महामन्त्री विष्णु लामिछानेलगायत विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरूले पार्टी र सरकारका बारे धारणा व्यक्त गर्नुभएको थियो ।