• १९ साउन २०८२, सोमबार

कोहलपुरका पाँच हजारभन्दा बढी विद्यार्थिलाई छात्रवृति वितरण

blog

सबैभन्दा बढी छात्रवृति वितरण गर्ने जनज्योती विद्यालय कोहलपुर । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, साउन १८ गते ।
कोहलपुर नगरपालिका भित्र सञ्चालित ४९ वटा संस्थागत विद्यालयहरुले पाँच हजारभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन् । कोहलपुर नगरपालिकामा रहेका एन प्याप्सन, प्याब्सन र क्रिसा बाँकेमा आबद्ध भएका संस्थागत विद्यालयहरुले सो छात्रवृति प्रदान गरेका हुन् ।

कोहलपुर नगरपालिकाद्धारा सार्वजनिक गरिएको छात्रवृत्ति वितरणसम्बन्धी विवरणमा नगरपालिकाका ४९ वटा संस्थागत विद्यालयहरुले पाँच हजारभन्दा बढी विद्यार्थिलाई छात्रवृत्ति वितरण गरिएको जनाइएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जेहेन्दार, द्वन्द्वपीडित, विपन्न, असहाय, महिला, आदिवासी जनजाति, दलित, मधेशी, अपाङ्गता र पिछडिएका समूदायका पाँच हजार १२७ छात्र छात्राहरुलाई संस्थागत विद्यालयहरुले छात्रवृत्ति प्रदान गरेको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्ष २०८२–०८३ मा नयाँ भर्ना भएका कक्षा नसर्रीदेखि कक्षा १० सम्म अध्ययन गर्ने कुल बालबालिकाहरु मध्ये १८ प्रतिशतभन्दा बढी बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको पाइएको बताउनुभयो ।

नगर प्रमुख आचार्यले शैक्षिक अभियानलाई विधिसम्मत बनाउने तथा सामाजिक दायित्व पूरा गर्न सहयोग गर्ने क्रिसा, प्याब्सन, एन प्याब्सन तथा सबै संस्थागत विद्यालयप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

कोहलपुर नगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयहरुमा २६ हजार ४७ जना विद्यार्थी अध्ययरत रहेकोमा पाँच हजार १२७ जनाले छात्रवृत्ति पाएका छन् । जसमध्ये जेहेन्दारमा एक हजार ४५१ जना, द्वन्द्वपीडितमा ९४ जना, विपन्न असहायमा ९९५ जना, महिलामा ६९३ जना, आदिवासी जनजातिमा ७३६ जना, दलितमा १४६ जना, मधेशीमा ४४०, अपाङ्गतामा ६४ र पिछडिएको समूदायका १६८ जना बालबालिकाहरुले छात्रवृत्ति प्राप्त गरेका छन् ।

धेरै छात्रवृत्ति प्रदान गर्ने विद्यालयमा सबैभन्दा बढी जिवन ज्योती स्कुलले ६३१ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको छ भने फुलवारी ऐजुकेशन एकेडमीले २६१ जना, बागेश्वरी एकेडमीले २३१ जना र कोहलपुर बागेश्वरी ईंगलिस मिडियम स्कुलले २०३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

सोही प्रकारले नेपाल एपिएफ स्कुलका सशस्त्र प्रहरीका सन्तती २३३ र बालज्योति मावि कोहलपुरमा अध्ययनरत १०७ जना नेपाली सेनाका सन्ततीलाई समेत आंशिक छात्रवृति प्रदान गरिएको छ ।

कोहलपुरका ४९ वटा विद्यालयहरुले करिब १० करोड २५ लाख रुपियाँभन्दा बढी रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले प्रचलित नियमानुसार प्रदान गर्नुपर्ने छात्रवृत्ति प्रदान गरिरहेका संस्थागत विद्यालयहरुको तथ्याङ्क सङ्कलन गरेर सार्वजनिक गरेको बताउनुभयो ।

‘‘तथ्याङ्क सङ्कलन गरी आमाबुवाको नाम र विद्यालयको प्रिन्सिपलहरुको नम्बर सहित सूचना जारी गरेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘कुन विद्यालयले कति छात्रवृत्ति प्रदान गरिरहेका छन् ? भन्ने यसबाट थाहा हुन्छ ।’’ जसले आगामी दिनमा बाहिरबाट कोहलपुरमा अध्ययन गर्न आउने बालबालिकालाई सेवा र सुविधाका विषयमा प्रष्ट हुने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।