गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १८ गते । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि कुमारी बैङ्कको नेतृत्वमा ऋण लगानी हुने गरी वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।
उक्त आयोजनाका लागि कुमारी बैङ्कको नेतृत्व तथा एनएमबी बैङ्कको सहनेतृत्वमा माछापुच्छ्रे बैङ्क, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, प्रभु बैङ्क, नेपाल एसबिआई बैङ्क, एनआइसी एसिया बैङ्क, कृषि विकास बैङ्क, लुम्बिनी विकास बैङ्क, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क, कामना सेवा विकास बैङ्क र आइसिएफसी फाइनान्सले सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी शुक्रबार सम्झौता भएको हो । सम्झौतामा कुमारी बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन् ।
बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजना ४१ अर्ब ६९ करोड रुपियाँ लगातमा तयार हुने अनुमान छ । यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा लगानी गरिँदै छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल साउनमा विद्युत् खरिद सम्झौता गरेको छ भने २०८१ वैशाखमा विद्युत् उत्पादन अनुमति पाइसकेको छ । आयोजनाबाट २०८८ सालको असार मसान्तभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यसहित अघि बढाइएको गुरागाईंले जानकारी दिनुभयो ।
आयोजनाबाट वार्षिक १,२२९.६६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् आयोजनास्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित चार सय केभी बझाङ सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने छ ।