• १७ साउन २०८२, शनिबार

ऋतुचक्र [कथा]

blog

रातको शीतलताले अझै धर्तीलाई अँगालो हालिरहेकै थियो, जब घनघोर बादलले आकाशलाई कालो ओडार जस्तै बनाएको थियो । बिच बिचमा घामको झुल्का झुल्किन खोजे झैँ लाग्थ्यो तर वर्षाकी राजकुमारी अझै बादलको पर्दाभित्र लुकिछिपी रमाउँदै थिई । टाढा टाढाका पहाड तिनको खेलमैदान बनेका थिए– कहिले त्यहाँ ओइलिन्थे त कहिले यहाँ मुस्काउँथे । सल्लाघारीहरू त नशामा छन् जस्तो, हावाको तालमा ताल मिलाउँदै छरितो भाकामा मस्त गुनगुनाइरहेका थिए । एकतमासको बादलको डम्फु र बिजुलीको चमकसँगै इन्द्रेणीयुक्त आकाशमा एक अनौठो विवाहको तयारी झल्किरहेको थियो । मेघराजा आफ्नी सपनाकी रानीलाई लिन हर्षोल्लाससाथ गडगडाहट बोकेर अघि बढ्दै थिए । धर्तीले मुस्कान दिइरहेकी थिइन्, वनस्पति लहलह ढल्किएका थिए– सबै जना यस स्वर्गीय मिलनको साक्षी बन्न आतुर थिए । यस्तो लाग्थ्यो, प्रकृति आफैँ नाचिरहेको थियो, अनि हामी अबुझ प्राणी मानिसलाई त्यो अनुपम नाटकका दर्शक मात्र हौँ जस्तो लाग्थ्यो ।

समय बितिरहेको थियो । दिनको उज्यालो तातिएको थियो तर आकाशमा एक किसिमको थकान छरिएको झैँ लाग्थ्यो– सायद रातभर ओइरिएका वेदनाका थोपा थाम्दाथाम्दै थकित भएको होस् । निलो आकाशको क्यानभासमा सेता र हल्का खरानी रङका बादलहरू छरिएर बसेका थिए; जसले कहिले हात्तीको आकृति बनाउँथे, कहिले परेवालाई उडाउँथे । बालक जस्ता ती बादल आफ्नै रमाइलोमा भुलेका थिए; कहिले छरछराउँथे, कहिले एकअर्कामा लुकेर खेल्थे । कहिले त सिधै घामको अनुहारमा हात राखेर ‘ढ्याप्प’ भन्दै लुकाउने खेल खेल्थे– घाम पनि मुसुक्क हाँस्दै छाया बनेर धर्तीमाथि झर्दथ्यो । हावा चल्दै गएपछि ती बादलका टुक्रा पन्छिँदै गए र आकाश फेरि खुल्दै गयो । केहीबेरमै ससाना चराले आकाश नाप्न थाले, फूलहरू फेरि मुस्काउन थाले, भिरपाखामा उभिएका सल्ला हावाको तालमा झुम्न थाले । यस्तो लाग्थ्यो, प्रकृतिको एउटा भावुक क्षण अब उल्लासको गीतमा बदलिँदै थियो; जसमा बादलको लाज, घामको हाँसो र धर्तीको मुस्कान मिसिएको थियो ।

समयचक्र कहाँ रोकिन्थ्यो र ! यस सहरमा आकाशभन्दा अग्ला सिमेन्टका पर्खालले मानिसलाई मात्र हैन, श्वासलाई पनि थिचे जस्तो लाग्थ्यो । झ्यालबाट हेर्दा हरियाली होइन, सिरानीसम्म बलेका पर्खालहरू देखिन्थे– उखरमाउलो भदौको घाम तिनको छातीमा निर्दयी तरबार झैँ बज्रिरहेको थियो । जून, घाम कहिलेकाहीँ गाउँले खेतहरूमा जीवन छर्दथ्यो; उसैलाई आज सहरमा सास रोक्ने यमदूत झैँ लाग्थ्यो । हावा गुम्सिएको थियो, माटो सुक्खा थियो, मानौँ धर्ती आफैँ पनि टन्टलापुर घामको सजाय भोगिरहेको होस् । एकछिनका लागि मात्र भए पनि, आकाशको एक कुनाबाट बादलले टाउको निकाल्थ्यो– मानौँ उसले सहरका पीडितलाई छाया दिने प्रयास गर्दै होस् । पूर्वबाट एउटा चिसो बतास सरसर चल्थ्यो– त्यो बतासमा थोरै भए पनि जिउको चिसो पसिना सुक्ने राहत मिल्थ्यो तर त्यो खुसी क्षणिक हुन्थ्यो । सूर्य फेरि ताज धारण गरेर आकाशको सिंहासनमा उक्लिन्थ्यो र बादलहरू पन्छिदिन्थे; मानौँ युद्ध हारेर फर्किएका सिपाही जस्तै । सहर फेरि बास्पिएर उड्ने लाग्थ्यो, सडकका पोलहरू झल्झलाउँथे र मानिसहरू आफ्नै छायाभन्दा पनि छिटो कुद्न थाल्थे– कतै शरण पाइएला भनेर तर शरण त यहाँ न घामले दिन्थ्यो, न सहरले । यत्तिकैमा साँझको गोधूलिमय धुवाँमय प्रकाश बिस्तारै ओरालिन थाल्यो– सायद प्रकृतिले फेरि नयाँ रङ भर्ने तयारी गर्दै छ, भोलिको आशामा ।

फेरि यस्तो समय आयो कि कसैले सपना देखे झैँ, साउनको हरियो आँचलमुनि अचानक शरद प्रकट भएको भए कति सुहाउँदो हुन्थ्यो होला ! वर्षाको ताजा माटोले भिजेको धर्तीमा शरदको चिसो मुस्कान मिसिएको भए, त्यो निलो आकाश त स्वर्गको छाना लाग्थ्यो । सायद त्यो बेला शरद कुनै स्वप्नसुन्दरी बनी धर्तीमा ओर्लिन्थी– शान्त, उज्याली र आफ्नै रूपको माधुर्यमा झलझलाउँदी । न त उसमा वसन्तको चञ्चलता हुन्थ्यो, न वर्षाको आँधी । ऊ त आफ्नो कोमलताले सारा मन थाम्ने जादु लिएर आउँथी । हल्का सुनगाभा घामले सिँगारिएको बिहान, भिजेको हरियालीमा चहकिएका चराहरू र टप्टपाउँदो ओसले भरिएको घाँस । यस्तो लाग्थ्यो, हावाले समेत उसको आगमन पर्खिएर राखेको हो– शरदको गन्ध मिसिएपछि बतास पनि स्निग्ध बनेको, कता कता चञ्चल हुँदै प्रियको कानैमा केही मिठा कुरा फुस्फुसाउने जस्तो । साँच्चै शरद यतिखेरको वर्षामा पाइला राख्थी भने मेघपाराका गन्धहरूसँग उसले मिलेर एउटा यस्तो सौन्दर्य रचना गर्थी; जसले समयलाई केहीछिन त ठम्याइहाल्थ्यो– न वसन्तको हो, न वर्षाको न त पूरै शरदकै– तर तिनैको सम्मिलन, एक अनुपम बेला; जुन हरेक सजीवको मनमुटुमा गुनगुनिरहन्थ्यो सदासर्वदा ।

समयले कोल्टे फेर्‍यो । शरद आइदिएपछि न केवल मानिस, चराचर सृष्टिको प्रत्येक अङ्गले राहतको श्वास लिइसकेको थियो– मानौँ सबैले उही एकैछिनको प्रतीक्षा गरेका थिए । आँगन मखमली र सयपत्री फूलले सुनौलो सपना झैँ सजिएको थियो; जसको ओछ्यानमा बिहानको पहिलो घामले लाज मान्दै पाइला टेके जस्तो लाग्थ्यो । गोदावरीको बास्नाले हावामा प्रेम मिसियो र त्यो सुगन्धले मनको कुनामा बाँसुरीको धुन झैँ कोमल कम्पन ल्यायो । डिलमा उभिएको सेतो गुलाफको बोट, त्यसका कोपिलाहरू सुमधुर यौवनका सङ्केत झैँ एक/एक गर्दै मुस्कुराउन थाले– न झरेका, न ढलेका, बरु गर्वले टुप्लुक्क टाँगिएका । फूलहरूमा रमाइरहेका भमराहरूको गुञ्जन त मानौँ शरदको आगमनको स्वागतगान हो । साँझ पर्दासँगै चन्द्रमाको चाँदनी आकाशबाट झरिरहे जस्तो लाग्यो; जसले धर्तीलाई चन्दनको लेप जस्तै चिसो र उज्यालो बनाइदियो । त्यही चाँदनीमा प्रकृति मुस्कुराइरहेकी थिई– सुगन्धित, शान्त र सजीव । यस्तो लाग्यो, शरदको आगमनले धर्तीलाई कुनै पुरानो ऋण तिरिदिएको होस् र त्यसको खुसीमा वनस्पति, जनावर, आकाश र मानिस– सबै एकै लयमा मग्न भएका थिए; बेहोसी झैँ दिव्य आनन्दमा डुबेका थिए । यही बेला कतै टाढा सानी बच्ची फूल टिप्दै थिई, कतै एक वृद्ध आकाश हेर्दै चुपचाप स्मृतिमा हराउँथे– शरदको जादु सधैँ सबैको मनमुटु छुन्थ्यो, कुनै न कुनै रूपमा ।

सधैँ समय कहाँ एकै हुन्थ्यो र ! शिशिरको कठोर चिसोले प्रकृतिका रङहरू नै ओइलिएर गएका थिए– हावा सन्किएको थियो, ज्यानमा मात्र होइन; बोटबिरुवाको मुटुमा पनि त्यसको असर परेको थियो । पातविहीन, ठिङ्ग उभिएका रूखहरू त्यस्ता देखिन्थे मानौँ आत्मसम्मान गुमाएका पात्र जस्तै चुपचाप र विवश । तुषारापातले उनीहरूको कलिला पातहरू गलाएर माटोमा मिसाइदिएको थियो, अनि बाँकी रहेको थियो केवल कोर्रा जस्ता काँडा र सुक्खा हाँगाहरू; जो चिसो सिरेटोको झटारो सहेर आफूलाई समालिरहेका थिए । ती रूखहरू एकअर्कातिर हेरिरहन्थे– शून्य भावमा, कहिलेसम्म सहनुपर्ने हो भनेर । सडकछेउका फाट्टफुट्ट घरहरू पनि रुख सरह ओइलिएका लाग्थे, चिसोले छाती थिचे झैँ काँपिरहेका जस्ता । फेदीमा बग्ने सेती नदीको प्रवाहमा पनि चञ्चलता थिएन, बरु उसका स्वरहरू पन्छिएर विलीन भइरहे झैँ लाग्थ्यो । मानौँ, ऊ आफ्नैभित्र कतै गुम्सिएको पीडा गुनगुनाइरहेकी होस् । यस्तो कठोर मौसममा सबै प्राणी एकअर्कासँग तातो अनुभूति साट्न चाहन्थे– कुराकानीको सुरुवात हरेक पटक जाडोको गुनासोबाट हुन्थ्यो र त्यो गुनासोमा एक किसिमको आत्मीयता मिसिएको हुन्थ्यो तर प्रकृति चुपचाप थिई– उसले आफूभित्रको पीडा जनावर वा मानिस जस्तो पोख्न जान्दिनथी । उसले त बस् सहन जान्थी किनभने ऊ जान्दथी– शिशिरले सबै लुटे पनि, फागुन कतै न कतै बाटो खोज्दै आइपुग्ने छ र जीवन फेरि चुलिने छ ।

प्रकृतिले अभिव्यक्ति दिइन् । “वसन्त आयो भने मानौँ प्रकृतिको मनमुटु आफैँ नाच्न थाल्छ– र त्यस नाचको तालमा चराचुरुङ्गी, जनावर र बोटबिरुवाले जीवनको उत्सव मनाउँछन् । पहिलेसम्म उदास र सुनसान देखिने जमिनमा अब त हरियो घाँस मुस्कुराउन थाल्छ, ससाना कोपिला झ्यालबाट झुल्किने बाल झैँ कौतूहल मुद्रामा फुटिन्छन् । रूखहरूमा नयाँ जीवन टाँसिन थाल्छ । डाँफे, मुनाल, सुगा जस्ता चरा झुन्डिँदै मिठा राग गुनगुनाउन थाल्छन् ।” यसरी प्रकृति वसन्तको स्वागतगान गाइरहेकी थिइन् । “चराहरूको कलरवले भरिएको आकाश त निलो चित्रपाटमा रङ्गिएको कविता जस्तै लाग्छ । बनजङ्गल र बगैँचाका फूलहरू पनि आफूलाई सिँगार्न हतारिएका हुन्छन्– कोही रातो, कोही पहेँलो, कोही बैजनी रङमा लज्जावती झैँ मुस्कुराइरहेका हुन्छन् । हावाले अब चिसो बोकेको छैन, उसले त फूलको सुगन्ध र जीवनको सन्देश बोकेको छ । अनि त जनावरहरू पनि फेरि झाडीबाट बाहिर निस्कन्छन्, चराहरू आफ्नो जोडीसँग रमाउँछन्, मान्छेहरूको मनमुटुमा पनि अलिकति कोमलता पलाउँछ ।” वसन्तको यस्तो अनुपम लयमा प्रकृतिले फेरि प्रमाणित गरिसकेको थियो– कुनै मौसम स्थायी हुँदैन । शिशिर जति कठोर भए पनि वसन्त एक दिन न एक दिन अवस्यै आइपुग्छ; जीवनलाई फेरि अमृतले नुहाउन ।

दिन मानौँ रुखो सास फेर्दै लम्पसार परिरहेको थियो । आकाशको कापबाट झरेको बाक्लो हुस्सुले धर्तीलाई पूरै निलो आवरणले बेरेको थियो– न घाम देखिन्थ्यो न आकाश, न त कुनै आशाको किरण । चराचुरुङ्गी कर्कलाको टुप्पोमा थचक्क बसेर दिशाबिना भौतारिँदा, तिनका परेला पनि कुहिरोमा भिजेर भारी भएका थिए । हावामा जीवन थिएन, मानौँ सास रोकिँदै थियो । हुस्सुका चुचुरामा शीतको हिरासरी झुन्डिएका थोपाहरू धर्तीमाताको काँपिरहेको अनुहारबाट चुहिएका अश्रु जस्तै तप तप खसिरहेको थियो । त्यो आँसुले पात झरेका रूख, चिसोले फाटेका डाँडा अनि बिर्खाबिना थचक्क थच्किएका घरका छानाहरू पनि ओभ्याउन सकेका थिएनन् । माघको कठ्याङ्ग्रिने जाडोले सारा सृष्टि एकै स्वरमा थरथराइरहेको थियो । कोही बोल्दैनथ्यो, सबै चुपचाप पीडाको चिसो सिरक ओढेर बाँचेका थिए ।

तर यिनै तुषारको भुमरीमा, कतै गहिरो कालीको घुम्टाभित्र झुल्किन थालेको थियो एक हल्का उज्यालो– हिम्मतको एउटा सानो तागत; जुन वसन्तको पहिलो सास बनेर फैलिन थालेको थियो । माटोभित्र कतै बिउहरू साँघुरो निधार खोलेर चियाउन थालेका थिए, रूखका हाँगामा ससाना कोपिला पर्खाल फोड्ने आँट लिएर उम्लिन लागेका थिए । पातविहीन रूखहरूमा एक मुन्टो चराले कराउँदै भनिरहेको थियो, “बाँच्नुपर्ने समय अब यही हो !” अनि आकाशको पर कतैबाट बगिरहेको बादलपारिको सुनौलो घामले एक झुल्को उज्यालो बिसाउने सङ्केत दिँदै थियो । यत्तिकैमा प्रकृति आफ्नो न्यानो नीलो गगनरूपी कम्बलमा बेरिएको बगैँचामा पुगिन्, त्यहाँ फूलको थालोमा देखिएको एउटा सानो हरियो अङ्कुर हेरेर भित्री दिलदेखि नयनसरिताका साथ मुस्कुरायो– संसार फेरि बदलिँदै छन् भनेर । त्यो अङ्कुर, त्यो मुस्कान, त्यो आशाको किरण– सब मिलेर चिच्याइरहेका छन्, “जाडोको कठोरता त केवल परीक्षा हो, जीवन त सधैँ फेरि फुल्नकै लागि हो ! सायद यस्तो कठोरताबिच प्रतीक्षा नभए कहाँ अमृतमय ऋतुचक्र अनि वसन्तको महत्वको आभास होला ।”