हराएँ आफैँलाई
र खोजिहेरेँ एक दिन
व्यस्त चौबाटोमा,
रोकिएँ गल्छेडोमा
सुस्ताएँ अलिबेर
र चियाएँ आफैँलाई,
बिर्सिएँ आफैँलाई
र फेरि चिमोटेँ, ब्युँझाएँ
र सम्झेँ अलिबेरमा,
मुसारेँ आफ्नै नाक
मिचेँ आँखाहरू
र
चिमोटेँ जब गाला
चाल पाएँ
उमेर नेटो काट्ने यात्रामा छ
र समय दौडिरहेछ पछ्याउनै नसक्ने गरी ।
त्यसै क्षण समाएँ कान
र गरेँ वाचा,
भो अब उत्रन्नँ कुनै प्रतिस्पर्धामा
बाँच्छु एउटा स्वतन्त्र जीवन ।