समकालीन नेपाली साहित्य र साहित्यकारप्रति बिपी कोइरालाको दृष्टिकोण बुझ्न खोज्ने साहित्यप्रेमी पाठकबिच लेखक गिरिराज आचार्यले ‘बी.पी. कोइरालाका साहित्यिक विचारहरू’ को तेस्रो संस्करण ल्याउनुभएको छ । जम्मा ४० (पहिलो खण्डमा २५ र दोस्रोमा १५) वटा शीर्षक समेटिएको यो पुस्तक अत्यन्त रोचक र पठनीय छ । विभिन्न साहित्यिक कृति र साहित्यकारप्रति बिपीले व्यक्त गर्नुभएका विचार हृदयस्पर्शी छन् । छोटो, मिठो, रोचक प्रसङ्गका लेखहरू पाठकलाई मोहनी लगाउने खालका छन् । ‘रेणु र म’ शीर्षकको पहिलो लेखमा बिपीले हिन्दी साहित्यका प्रसिद्ध लेखक फणिश्वरनाथ रेणुको निधनपछि तत्कालीन प्रसिद्ध भारतीय अखबार ‘दिनमान’ मा लेख्नुभएको लेख समेटिएको छ । यसमा भारतको रेलयात्राका बखत असहाय देखिएका रेणुलाई बिपी दम्पतीले आश्रय दिएर कसरी विराटनगर ल्याउनुभयो, परिवारको सदस्यका रूपमा राख्नुभयो, साहित्यिक सहयात्री एवं क्रान्तिकालका सहयोद्धा बनाउनुभयो र विराटनगरमा क्रान्तिकारीले स्थापना गरेको रेडियो स्टेसनमा उहाँले गर्नुभएको योगदानको रोचक प्रसङ्ग छ ।
सुन्दरीजल जेलमा पारिजातको चर्चित ‘शिरीषको फूल’ उपन्यास पढेका बिपीले यसमा पनि कटु टिप्पणी गर्नुभएको छ । उहाँले कथा र कवितामा लेखकको मनोविज्ञानको चर्चा गर्दै यसमा कवितावाद उजागर भएको र कथा हराएको बताउनुभएको छ । यसलाई काव्योन्यास भनिए पनि बिपी स्पष्ट भन्नुहुन्छ, “काव्योन्यास उपन्यास होइन ।” यस उपन्यासमा शङ्कर लामिछानेको भूमिकामा उल्लेख भएको शून्यवादप्रति पनि उहाँको विमति देखिन्छ । उहाँ त सुयोगवीरले जीवनप्रति अगाध ममता दर्साएको पाउनुहुन्छ । सकम्बरीमा पनि नारीसुलभ प्रेमको प्यास देख्नुहुन्छ र भन्नुहुन्छ, “हीन भावनाले पीडित नभएको भए दुःखान्त रचनाकी नायिका हुने थिइन र कथाको टुङ्गो पनि सुखान्त हुने थियो, सुयोग र सकम्बरीको वैवाहिक सूत्रमा ।”
पुस्तकमा बिपी कोइराला क्यान्सरले थलिएका साहित्यकार भवानी भिक्षुलाई भेट्न उहाँकै निवास बानेश्वर पुग्दा भएको संवाद र भावुक क्षणहरूको प्रसङ्ग पनि छ । बिपी प्रधानमन्त्री भएकै बेला महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएको थियो । प्रधानमन्त्रीका रूपमा समवेदना दिँदा देवकोटाले उपचारको अभावमा जीवन गुमाउनु परेको कुराले उहाँलाई छोएको भाव समवेदना सन्देशमा देखिन्छ । उहाँले भन्नुभएको थियो, “देवकोटाज्यू एक दैन्य जीवन बिताएर जानुभयो । ...जबसम्म समाजमा रहेका आर्थिक विषमता जस्ता खराबी हटाई समाजलाई अगाडि बढाउने कामतिर लाग्न सक्दैनौँ तबसम्म प्रचलित परिपाटी अनुसार शोकसभा मनाएर विधि पु¥याउने काम गर्दैमा वा कसैको परिवारको केही व्यवस्था गरिँदैमा जिम्मेवारी पूरा गरेको भन्नु हुँदैन ।” बिपीले नयाँ बानेश्वरस्थित रत्न पुस्तकालयको प्राङ्गणमा महाकवि देवकोटाको प्रतिमा अनावरण गर्दा उहाँप्रति सच्चा सम्मान प्रकट गर्दै संवेदनशीलता अँगालेर साहित्यमा ओर्लने देवकोटाबाट नितान्त नयाँपन आएको उल्लेख गर्दै भन्नुभएको थियो, “नेपालको पुनर्जागणको पहिलो सूत्रपात गर्ने देवकोटा हुन् ।”
पुस्तकको ‘मूल्य, मान्यता र मन्तव्य’ शीर्षकको लेख बिपीको साहित्यिक यात्रा, फ्रायडवाद अर्थात् यौन मनोविज्ञानको प्रभाव, उहाँका नारी पात्र, उहाँका मन पर्ने लेखकहरू, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘सुम्निमा’ उपन्यास लेख्न उत्प्रेरित गर्ने घटनाको चर्चा गरिएको छ; जुन राजनीति र साहित्यप्रति बिपीको धारणा बुझ्न निकै सहयोगी छ । उहाँले भन्नुभएको छ, “राजनीतिमा सानो मानिसलाई पनि पोसाक चाहिन्छ, साहित्यमा भने सम्राट् पनि निर्वस्त्र हुन्छ ।”
बिपीले सडक कविता क्रान्तिलाई प्रजातन्त्र पुनस्र्थापनाका लागि ‘पोयट् अन दी मुभ’ भनेर प्रशंसा गर्नुभएको छ । ‘पुनर्जागरण’ पत्रिका विमोचन कार्यक्रममा उहाँले राष्ट्रियताको जगेर्ना गर्न प्रजातन्त्र र आर्थिक समानताका लागि समाजवाद अपरिहार्य भएको बताउनुभएको छ ।
पुस्तकमा बिपी कोइरालाले विराटनगरको ‘बरगाछी’ कथा अङ्क र झापाको ‘विश्वदीप’ पत्रिकालाई दिइएको शुभकामना पनि संलग्न छ । भरत जङ्गमको ‘कालो सूर्य’ लाई बिपीले हामीले भोगिरहेको वर्तमान समाजको सफल चित्रण भन्दै यसलाई नेपाली साहित्यमा नयाँ प्रयोग भन्नुभएको छ । यस्ता खाले विषयवस्तुले भने समाजमा दूरगामी प्रभाव राख्न नसक्ने प्रस्ट विचार उहाँले राख्नुभएको छ । ध्रुवचन्द्र गौतम लिखित ‘कट्टेल सरको चोटपटक’ उपन्यासलाई उहाँले धेरै राम्रो ‘अनट्रेडिसनल’ शैलीको, कथ्य पनि शैली जस्तै राम्रो र नवीन रहेको कृति भन्नुभएको छ । उहाँले कवि धरणीधर कोइरालाको शोक सभामा उहाँलाई क्रान्तिकालका ज्युँदा र जागरणका प्रतीक, सच्चा देशभक्त र प्रजातन्त्रवादी भनेर प्रशंसा गर्नुभएको थियो । ‘जेलको चिठी साहित्यकार भाइ तारिणीप्रसाद कोइरालाको नाममा’ शीर्षकको बिपीको लेखमा जेलका नैराश्यपूर्ण दिनलाई अझ उपलब्धिमूलक बनाउन नसकेकोमा चिन्ता प्रकट भएको छ । उहाँ भन्नुहुन्छ, “पाँच वर्षमा मैले पनि एक ट्रक किताब लेखिसक्नुपर्ने र यहाँका बुद्धिजीवीहरूको टाउको थिच्ने गरी ओइरिदिन सक्नुपर्ने ।” उहाँले तारिणीमा सिप, जाँगर र कलाबोध पनि भएको उल्लेख गर्दै भन्नुभएको छ, “खूब लेख्नू, एक ट्रक जति हुन थाल्यो भनेर चित्त दुखाउने काम छैन । वजन चाहनेले भार पाउने छन् र रसिकहरूले रस ।” उहाँले त्यसमा तारिणीको ‘एक दिन राति’ शीर्षकको कथा उल्लेख गर्नुभएको छ । कवि दुर्गा श्रेष्ठ र टी एस इलियटको चर्चा गर्नुभएको छ ।
पुस्तकमा नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा २०३८ साल माघ १७ गते बिपीलाई गरिएको अभिनन्दन समारोहमा सङ्घले समर्पण गरेको अभिनन्दनपत्र र उहाँले दिनुभएको प्रत्युत्तर भाषण पनि समाविष्ट छ । बिपीले प्रत्युत्तर भाषणमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथितलगायत साहित्यकारको प्रशंसा गर्नुभएको छ । उहाँले नेपाली साहित्यमा लेख्न प्रेरित गर्ने सूर्यविक्रम ज्ञवालीको ससम्मान नामोच्चारण गर्नुभएको छ । मानिसको मनोविज्ञानतर्फ लेख्न आफू प्रेरित भएको खुलाउनुभएको छ । उहाँले कलाकार र साहित्यकारहरू कसैको अपेक्षा र कतैको परमुखापेक्षी हुन नहुने विचार राख्नुभएको छ । उहाँले भन्नुभएको छ, “जो साहित्यकार, कलाकार आफ्नो सम्मानमा अडेर भोकभोकै छिँडीमा बसेर लेख्न तयार छ, त्यसैले मात्र ठुलो कला दिन सक्छ । सबैको संरक्षणमा रहन थाल्यो वा सरकारले मद्दत गर्यो भने त्यसले केही न केही माग्छ, त्यो मूल्य चुकाउन थाल्यो भने साहित्यकार आफैँप्रति वफादार हुँदैन । आफ्ना अनुभूतिका प्रति वफादार हुँदैन । गद्दीमा बस्ने वा सरकारमा बस्नेका प्रति वफादार हुन्छ ।”
यसमा उहाँले मानिस अतीत वा इतिहासले निर्देशित नभएर भविष्यको सम्भावनाबाट प्रेरित हुने बताउनुभएको छ । पुस्तकमा बिपी कोइरालाका जीवनका उद्घाटन भएका पाटा पनि संलग्न छन् । जस्तो उहाँ प्रधानमन्त्री हुँदा उहाँलाई प्रज्ञा–प्रतिष्ठानको उपकुलपति लिन प्रस्ताव गरिएको रहेछ । उहाँले राजनीतिमा लागेको मान्छे साहित्यकारहरूको जमघट हुने ठाउँमा घुसे भने प्रभाव जमाउन खोज्छन् र भाषा साहित्यको विकास अवरुद्ध हुन्छ भनेर त्यो पद अस्वीकार गर्नुभएको रहेछ । पुस्तकमा बिपी कोइरालाले जेलमा रहँदा लेख्नुभएका बिनाशीर्षकका आठ कविता पनि संलग्न छ । यसले बिपी कोइरालालाई कथाकार र उपन्यासकारका अलावा कविका रूपमा पनि परिचित गराउन सहयोग पु¥याएको छ । पुस्तकमा फणिश्वरनाथ रेणुको ‘मैला आँचल’ र लीलाध्वज थापाको ‘मन’ उपन्यासप्रति बिपीको धारणा पनि उल्लेख छ ।
पुस्तकमा बिपी कोइरालाले जेलमा बस्दा पढ्नुभएका किताब र लेखकहरूको सूची संलग्न छ । पुस्तकको दोस्रो भागमा लेखक गिरिराज आचार्यले बिपीका बारेमा लेख्नुभएका १५ शीर्षकका लेख समाविष्ट छन् । पुस्तकमा शान्तिप्रिय द्विवेदीको निधनपछि बिपीले जेलमा लेख्नुभएको ‘उनको प्रस्थानले १९२८ देखि १९३४ सम्मको एउटा महत्वपूर्ण समयसँगको मेरो सम्बन्धको तार चुँडाइदियो’ भन्ने मार्मिक अभिव्यक्तिसहितको प्रतिक्रिया पनि समेटिएको छ । बिपीले एन्टोन चेखवको ‘थ्री सिस्टर्स’, ‘स्वतन्त्रता’ र ‘कला’ का सम्बन्धमा अमेरिकी र रुसी लेखकहरूको चरित्र र प्रवृत्ति, गुन्नर मिर्दलको पुस्तक ‘एसियन ड्रामा : एन इक्वायरी इन्टु दी पोभर्टी अफ नेसन्स’ नामक पुस्तकका बारेमा बिपीले निकाल्नुभएको सार पनि प्रस्तुत गरिएको छ ।