• १७ साउन २०८२, शनिबार

सल्यानमा बढ्दै कोदो खेती

blog

सल्यानका किसानले मकैबारीको छेउँछाउँमा गरेको कोदो खेति । तस्बिरः शंकर केसी

शंकर केसी,
शारदा (सल्यान), साउन १६ गते ।
कोदो नेपालको परम्परागत रैथाने बाली हो । कृषकहरू अन्य नगदेबाली आलु, अदुवा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका छन् । तर पनि पछिल्लो समय सल्यानमा कोदो खेती विस्तारै बढ्दै गएको देखिएको छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार कोदोको महत्त्व र यसले स्वास्थ्यमा महत्त्वपूर्ण लाभ प्रदान गर्ने भएकाले माग बढ्दै जाँदा किसानहरु पनि कोदो खेतीको विस्तारमा लागेका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ६८० हेक्टर क्षेत्रफलमा गरिएको कोदो खेतीबाट एक हजार २४५ मेट्रिकटन उत्पादन भएकोमा आर्थिक वर्ष २०८०/०८१ मा बढेर ६८५ हेक्टरमा खेती भएको थियो । यसबाट एक हजार २७० मेट्रिकटन उत्पादन कोदो उत्पादन भएको कृषि विकास कार्यालयको बाली विकास शाखाले जनाएको छ ।

यस शाखाका प्राविधिक सहायक बसन्त रेग्मीले भन्नुभयो, “पछिल्लो समय कोदो खेति बढ्दै गएको देखिन्छ । कोदोको उत्पादकत्व आर्थिक वर्ष २०८०/०८१ मा १.८३ मेट्रिकटन थियो ।”

गएको आर्थिक वर्ष २०८१/०८२ को विवरण आफुँहरुले तयार गरिरहेको भन्दै उहाँले अघिल्लो वर्षको तुलनामा कोदो खेति हुने क्षेत्र करिव १० हेक्टर बढेको हुनसक्ने बताउनुभयो । “हामीले रैथाने बाली प्रवर्धन कार्यक्रमअन्तर्गत दोलखाबाट उन्नत खालको मुल बीउ ल्याएर पाँच सय ५० किलो दार्मा र बनगाडका किसानलाई वितरण गरेका थियौँ । जसकारण पनि कोदो खेती बढेको देखिन्छ”, रेग्मीले भन्नुभयो ।

मकैबारीको बिच विचमा पनि किसानहरुले कोदो रोपेको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका कृषक तुल्सीराम थापाले गाउँमा पहिला कोदो धेरै लगाउँने गरिएकोमा त्यसपछि मानिसहरु कोदो खेतीबाट पछि हट्दै गएको भए पनि पछिल्लो समय फेरी कोदोको महत्त्व बुझेकाहरु खेतीमा लागेको बताउनुभयो ।

जिल्लाका सबै स्थानीय तहहरुको कोदो खेती हुनेगरेको भए पनि विशेष गरेर दार्मा गाउँपालिकाको वडा नं, ३, ५ र ६, बनगाड कुपिण्डे नगरपालिकाको ६ र ९ नं वडा, शारदा नगरपालिकाको ११ र १२ नं वडा, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाको माथिल्लो भाग एवम् कुमाख, सिद्धकुमाख गाउँपालिकाका केही क्षेत्रमा कोदो खेती हुने गरेको छ ।

सरकारले हरेक वर्ष साउन १६ गतेका दिन राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेकाले अब झन कोदो खेती विस्तारका लागि थप कार्यक्रम सञ्चालन गरिने कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष पनि सल्यानमा कोदो खेती प्रवर्धनका कार्यक्रम सञ्चालन हुन छन् ।

कम पानी र कम लगानीमा नै कोदो फस्टाउन सक्ने भएकाले उच्च पहाडी र ग्रामीण क्षेत्रमा यो बालीले निकै फाइदा पुर्‍याउन सक्छ । यसको खेती उब्जनी कमजोर माटोमा पनि सम्भव हुने भएकाले किसानहरूले सजिलै उत्पादन गर्न सक्छन् । “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ साउन १६ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी प्रथम राष्ट्रिय कोदो दिवस मनाउन सङ्घीय सरकारले देशभरका स्थानीय तहहरुलाई परिपत्रसमेत गरेको छ ।

कोदो जस्ता परम्परागत बालीहरू संरक्षण गर्दा स्थानीय जैविक विविधता सुरक्षित राख्न सकिने विज्ञहरुको भनाइ छ । रैथाने बालीको खेतीले माटोको गुणस्तरमा सुधार ल्याउने र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्याउने यस क्षेत्रमा लामो समयदेखि कार्यरत डा. दिगम्बरसिंह दाहाल बताउनुहुन्छ ।

कोदोमा फाइबर, प्रोटिन, र खनिजहरू जस्तै क्याल्सियम, आइरन, र म्याग्नेसियमको मात्रा उच्च हुन्छ । यसले पाचन प्रणालीलाई सन्तुलित राख्न र हृदय रोगको जोखिम कम गर्न मद्दत पुर्‍याउँछ । साथै, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा पनि कोदो उपयोगी मानिन्छ । कोदोको महत्व निकै भएकाले यसको संरक्षण र खेतीलाई निरन्तरता दिन सरकारी निकाय र किसानहरूको संयोजनमा काम गर्नुपर्ने देखिन्छ ।