• १६ साउन २०८२, शुक्रबार

क्याम्पसको समग्र पक्षमा सुधार गर्न नेपाल विद्यार्थी सङ्घको माग

blog

महेन्द्र बहुमुखी क्याम्पसको समग्र पक्षमा सुधारको मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल विद्यार्थी सङ्घ ।

लक्ष्मी तिमिल्सेना

जमुनाह, साउन १५ गते । महेन्द्र बहुमुखी क्याम्पसको समग्र पक्षमा सुधार गर्न नेपाल विद्यार्थी सङ्घले माग गरेको छ । क्याम्पसमा बेथिती बढेको निस्कर्ष निकाल्दै नेविसङ्घ महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी नेतृत्वले क्याम्पस प्रमुख लालमणि आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएर यस्तो माग गरेको हो ।

नेपाल विद्यार्थी सङ्घका नेता सन्तोष रावल (आर.एस) को नेतृत्वमा पुगेका विद्यार्थीले बिहीबार क्याम्पस प्रमुख आचार्यलाई भेटेर उक्त पत्र बुझाएका थिए । पत्रमा क्याम्पसको भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षमा सुधार गर्नुपर्ने माग गरिएको छ । नेविसङ्घले क्याम्पसको छात्रबास सुधार गर्नुपर्ने भन्दै छात्रवास मर्मत, खानेपानी, सरसफाइ, शौचालय सुविधा र सुरक्षा व्यवस्थामा सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

यस्तै पुस्तकालय सुधारका लागि पाठ्यपुस्तक, सन्दर्भ सामाग्री, समाचारपत्र र डिजिटल स्रोतहरुको सहज पहुँच सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । क्याम्पसको पठन–पाठनमा गुणस्तर सुधारका लागि नियमित कक्षा सञ्चालन, विषय अनुसार योग्य शिक्षकको व्यवस्था, प्रयोगात्मक कक्षाको सुविधा, समयमै परीक्षा सञ्चालन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

छात्रवृत्ति वितरणमा पारदर्शिता र निष्पक्षता हुनुपर्नेमा जोड दिँदै स्पष्ट मापदण्डसहित सूचना सार्वजनिक गर्नुपर्ने माग नेविसङ्घले उठाएको छ । आर्थिक रुपले कमजोर भएका योग्य विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिनुपर्ने र सम्पूर्ण विवरण सूचना पाटीमा राख्नुपर्ने माग गरिएको छ । क्याम्पस वातावरण तथा सरसफाइ सुधारका लागि क्याम्पस परिसरमा सरसफाइ, व्यवस्थित पार्किङ, झारपात हटाउने, वृक्षरोपण गर्ने जस्ता दिर्घकालिन योजनाहरू लागु गर्नुपर्ने नेविसङ्घले सुझाव दिएको छ । 

उक्त विषयमा क्याम्पस प्रशासनले यथाशिघ्र आवश्यक कदम चाल्ने विश्वास लिइएको नेविसङ्घका नेता बताउनुभएको छ । ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेविसङ्घका नेताहरू रमेशप्रसाद न्यौपाने चन्द्रलाल जैसी, विशाल थापा, खगेन्द्र बजगाई, निराजन चौधरी लगायतको उपस्थिती रहेको थियो ।