मुम्बई, साउन १५ गते । भारतीय अदालतले बिहीबार एक कट्टर हिन्दु राष्ट्रवादी साध्वी तथा पूर्व सांसद र सन् २००८ मा एक मस्जिद नजिकै भएको घातक बम विस्फोटमा सहभागिताको आरोपमा अन्य छ जनालाई सफाइ दिएको छ । पश्चिमी राज्य महाराष्ट्रको मालेगावको मस्जिद नजिकै मोटरसाइकलमा बाँधिएको बम विस्फोट हुँदा भएको आक्रमणमा छ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए ।
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) की पूर्वसांसद साध्वी प्रज्ञा ठाकुरलगायत सात जनालाई आतङ्कवाद र आपराधिक षड्यन्त्रको आरोपमा मुद्दा चलाइएको थियो । उक्त मुद्दा वर्षौंसम्म तानिएको थियो । अभियोजन पक्षले आक्रमणमा प्रयोग गरिएका विस्फोटकहरू बोक्न ठाकुरको मोटरसाइकल प्रयोग गरिएको र विस्फोट हुनुअघि उहाँले मुख्य योजना बैठकमा भाग लिएको दाबी गरेको थियो ।
यद्यपि न्यायाधीश ए के लाहोटीले बिहीबार ठाकुर र अन्य छ जना विरुद्ध अभियोजन पक्ष पर्याप्त प्रमाण उपलब्ध गराउन असफल भएको फैसला सुनाउनुभयो ।“फैसलाहरू नैतिकता र सार्वजनिक धारणामा आधारित हुन सक्दैनन”, भारतीय कानुनी वेबसाइट लाइभ लका अनुसार लाहोटीले भन्नुभयो । बचावपक्षका वकिल रणजित नायरले अभियोजनपक्षले ‘अभियुक्तविरुद्ध कुनै प्रमाण प्रस्तुत गर्न सकेन’ भनी न्यायाधीशले उल्लेख गरेको बताउनुभयो ।
भारतीय सांसद असदुद्दीन ओवैसीले फैसलालाई ‘निराशाजनक’ भन्दै मारिएकाहरू ‘तिनीहरूको धर्मका कारण निशाना बनाइएका’ थिए भन्नुभयो । “जानाजानी कमजोर अनुसन्धान, अभियोजन निर्दोष सफाइका लागि जिम्मेवार छ”, उहाँले एक्समा एक पोस्टमा भन्नुभयो । मुद्दाको सुनुवाइका क्रममा भारतको आतङ्कवाद विरोधी एकाइले सन् २००८ को बम विस्फोट सामुदायिक तनाव भड्काउन गरिएको बताएको स्थानीय मिडियाले जनाएको छ ।
पचपन्न वर्षीया ठाकुरले सन् २०१७ मा जमानत पाउनुअघि नौ वर्ष जेलमा बिताउनुभयो । पछि उहाँले भाजपाले भोपालको केन्द्रीय सहरको सिटका लागि उम्मेदवार बनाएपछि चुनाव जित्नुभयो । भारतीय चुनावी नियमहरूले कसैलाई अपराधमा दोषी नठहरिएसम्म जो कोहीलाई पदमा लड्न अनुमति दिन्छ ।
ठाकुरले भारतीय स्वतन्त्रता वीर महात्मा गान्धीका कट्टरपन्थी हिन्दु हत्यारालाई ‘देशभक्त’ भनेर विवाद खडा गर्नुभयो । उक्त टिप्पणीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँलाई हप्काउनुभयो । उहाँले गाईको पिसाब पिउँदा आफ्नो क्यान्सर निको भएको र दुध, घिउ र गोबरको मिश्रण पिउने फाइदाहरूको वर्णन गर्नुभएको थियो । रासस/एएफपी