• १३ साउन २०८२, मङ्गलबार

स्याङ्जामा एकै वर्षमा ३० किलो मिटर सडक कालोपत्रे

blog

कालोपत्रे गरिएको सडक । तस्बिर :अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, साउन १३ गते ।
स्याङ्जामा धमाधम ग्रामीण क्षेत्रका सडक कालोपत्र भएका छन् । पूर्वाधार विकास कार्यालय, स्थाङ्जाले आर्थिक वर्ष ०८१/०८२ मै ३० किलोमिटर सडक कालोपत्रे गरेको छ । ५० किमी कालोपत्रे गर्ने लक्ष्य लिएको पूर्वाधारले बहुवर्षिय योजनाहरू समयमै कालोपत्रे नहुदाँ लक्ष्यमा पुग्न नसकेको हो ।

पूर्वाधारले दामाचौर–हिलामर्‍याङ सडक १०.५ किमी, राङखोला –धोबादी –बिरुवा सडक ६.१ किमी, बिरुवा–किचनास सडक १.७ किमी, पिपलटारी –वोदी भन्ज्याङ सडक सड्क १.५ किमी, पुतली खेत –सतौ दरौ सडक ३.१ किमी, ढोडोखेत–दाह्रेगौगा सडक दुई सय मिटर, अल्छीखोला–रानीपोखरी सडक ८५० मिटर, बयरघारी–बानेथोक सडक आठ सय मिटर कालेपत्र गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताउनुभयो ।

उहाँले पूर्वाधारले यो आर्थिक वर्षमा छ वटा मोटरेवल पुल मध्ये पौवेगौडे र रातोखोला निर्माण सम्पन्न गरेको बताउनुभयो ।

यस्तै यसै आर्थिक वर्षमा पाँच वटा झोलुङे पुल निर्माण गरेका पूर्वाधार विकास कार्यालय स्याङजाले जनाएको छ । सडक कालोपत्रे भएसँगै धुलो र हिलोमा हिँड्न बाध्य भएका यहाँका स्थानीय नागरिकलाई सहज भएको छ ।

यस कार्यालयबाट ढेक्का सम्झौता भएका १२ वटा बहुवर्षीय योजनाहरू समय सकिदाँ समेत निर्माणले पूर्णता पाउन नसकेको हो ।

यहाँको मालुङगा–रुद्रबेणी सडक सम्झौता समय सकिन तीन महिना बाँकी रहदाँ ५५ प्रतिशत काम भएको छ भने सात महिना समय बाँकी रहदाँ रत्ने–सुन्तलाबारी सडकमा कामै छाडेर निर्माण कम्पनी हिँडेको छ ।

यस्तै, गल्याङ–चापाकोट, कोल्मा–ज्यामिरे, दरौ–आरुचौर, बायटारी–सेतिबेनी, किनारे–धुरकोट, जिमुवा–पाखिचौर, पिपलटारी–बोधिभञ्ज्याङ, अर्जुनचौपारी–रापाकोट, वालिङ–हुवाँस, बलमाटा–खिलुङको सम्झौता समय सकिदाँ सुस्त गतिमा निर्माण अगाडि बढेका  छन् ।

बहुवर्षिय योजनाहरू धेरै आर्थिक अभाव र केही निर्माण कम्पनीका कारण अलपत्र हुने गरेका छन् । पूर्वाधारले यस आवमा ७३.२६ प्रतिशत प्रगति गरेको छ भने एक अर्ब ३८ करोड तीन लाख ३४ हजारमा एक अर्ब एक करोड १२ लाख ६५ हजार खर्च गरेको हो ।