चन्द्रपुर समाचारदाता
चन्द्रपुर (रौतहट), साउन १३ गते । रौतहटको गौर नगरपालिका–१ स्थित ऐतिहासिक शिवालय पोखरीमा युवाले सरसफाइ तथा वृक्षरोपण गरेको छ । वर्षौंदेखि पोखरी सफा नहुँदा दुर्गन्धित हुँदै गएका कारण स्वस्फूर्त रूपमा युवाको समूहले पोखरी सफा गरेको अभियानका संयोजक राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य बजरङ्गी गुप्ताले बताउनुभयो ।
शिवालय पोखरी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणलेसमेत महत्त्वपूर्ण स्थल रहेकाले यसको संरक्षण र सौन्दर्यीकरण आवश्यक रहेको गौर–१ का प्रवीण टिवडेवालले बताउनुभयो । पोखरी वरिपरिका फोहोर व्यवस्थापन गरिएको र प्राकृतिक सौन्दर्य कायम राख्ने काम गरिएको स्थानीय युवा अभिषेक गुप्ताले बताउनुभयो । यो अभियानले गौरको सार्वजनिक स्थल संरक्षणको उदाहरणीय अभ्यास सुरु गरिएको ज्येष्ठ नागरिक सङ्घ रौतहटका अध्यक्ष विजय किशोर झाले बताउनुभयो ।
सरसफाइसँगै शिवालय पोखरीपरिसरमा ३० वटा दुर्लभ तथा आकर्षक फूलका बिरुवा रोपिएको छ । अभियानका संयोजक गुप्ताका अनुसार रोपिएका बिरुवा सौन्दर्यका हिसाबले विशेष छन् र वातावरणीय सन्तुलनका लागि पनि उपयोगी हुने छन् । वृक्षरोपण निकै व्यवस्थित ढङ्गले गरिएको र पोखरी वरिपरि हरियालीको संरक्षण र प्रवर्धन गर्ने लक्ष्य लिएको संयोजक गुप्ताले जानकारी दिनुभयो ।
यसअघि युवाको समूहले शिवालय पोखरीनजिकै रहेको शिवालय मन्दिर तथा गौर–२ मा रहेको बानेश्वर महादेव मन्दिरको समेत सरसफाइ गरेका थिए । साउनमा दर्शनार्थीको शिव मन्दिरमा भिड हुने गरेकाले सरसफाइ गरिएको गौर–१ का युवा प्रवीण टिवडेवालले बताउनुभयो ।