• १३ साउन २०८२, मङ्गलबार

गाउँमा शिक्षक अभाव, पठनपाठन प्रभावित

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), साउन १३ गते । लामो समयदेखि गणित शिक्षक नहुँदा विद्यालयमा पठनपाठनमा समस्या भएको भन्दै शिक्षकको व्यवस्था गरिदिन स्थानीय सरकारसँग विद्यालयले हारगुहार गरेको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–६, खडगकोटमा रहेको शुक्र माध्यमिक विद्यालयमा लामो समयदेखि गणित शिक्षक नहुँदा पठनपाठनमा समस्या झेल्नु परेको छ । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर पुनमगरले विद्यालयले माध्यमिक तहको सङ्घीय अनुदान गणित शिक्षकका लागि चार पटक विज्ञापन गर्दासमेत शिक्षक पाउन नसकेकाले शिक्षकको व्यवस्था गरिदिन स्थानीय सरकारसमक्ष आग्रह गर्नुभएको हो । उहाँले पहिले कार्यरत शिक्षक घरपायक मिलाएर गएपछि नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा गणित शिक्षक नभएकाले विद्यार्थीको पठनपाठनमा मर्का परेको बताउनुभयो । 

कक्षा १० का छात्रा दीपा थापाले नयाँ शैक्षिक सत्रबाटै गणित शिक्षक नहुँदा गणित विषय अध्ययन गर्नबाट वञ्चित भएको बताउनुभयो । उहाँले लामो समयसम्म विषय शिक्षक नहुँदा जटिल विषय नै पढ्नबाट वञ्चित भएको बताउनुभयो ।  कक्षा १० मा अध्ययनरत छात्र अभिषेक थापाले पनि तत्कालै विषय शिक्षकको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । भौगोलिक रूपले विकट भएको विद्यालयमा झन् शिक्षक नहुँदा आफूहरूले थप समस्या झेल्नु परेको उहाँको भनाइ छ ।

कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले पटक पटक विज्ञापन गर्दा पनि शिक्षक पाउन नसकेकाले वैकल्पिक व्यवस्था भए पनि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले माध्यमिक तहका लागि अध्यापन अनुमतिपत्र भएका व्यक्ति गाउँमा कम हुने र गाउँमा भन्दा सहरमा बढी केन्द्रित हुने भएकाले शिक्षकको समस्या भएको बताउनुभयो । 

भौगोलिक रूपमा विकट भएको विद्यालयका विद्यार्थीको पठनपाठनलाई नियमित गर्नका लागि पालिकाले योजना बनाएको बताउँदै उहाँले शिक्षकको व्यवस्था नभएसम्मका लागि वैकल्पिक व्यवस्था गर्न पहल गरिएको बताउनुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले जिल्लामा गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक अभाव देखिने गरेको बताउनुभयो । यो जिल्लाको मात्रै नभएर देशभरको नै समस्या रहेको उहाँको भनाइ छ । केही महिना पहिले मुसीकोट नगरपालिकामा छैटौँ पटक विज्ञापन गर्दा अन्तिम पटकमा शिक्षकको व्यवस्था भएको थियो ।