विकास अधिकारी
पश्चिम नवलपरासी, साउन १३ गते । सडक बोर्डले पश्चिम नवलपरासीको भुमहीदेखि रुपन्देहीको भैरहवा जोड्ने हुलाकी सडकखण्डको दुई स्थानमा सडक उपभोग दस्तुर सङ्कलन गर्ने तयारी थालेपछि सरोकारवालाहरूले आपत्ति जनाएका छन् । भुमही–भैरहवा २६ किलोमिटर सडक खण्डअन्तर्गत सदरमुकाम परासीमा रामग्राम–१२ शान्तीचौरस्थित नेपाल पत्रकार महासंघको कार्यालय अगाडि र रुपन्देहीमा रोहिणी खोला पुल नजिकै सडक बोर्डले दस्तुर सङ्कलनको तयारी थालेको छ ।
विगत ६ वर्षदेखि रोकिएको दस्तुर संकलन कार्य सुरु गर्ने तयारी बोर्डले थालेपछि नवलपरासीका सरोकारवालाहरूले उक्त कार्य अगाडि नबढाउन ध्यानाकर्षण गराएका छन् । परासी शान्तीचौरमा रहेको दस्तुर सङ्कलन केन्द्र अनुपयुक्त स्थानमा रहेको, नजिकै विद्यालय तथा करदाता सेवा कार्यालय भएकाले भिडभाड हुने हुँदा सङ्कलन केन्द्र सार्न आग्रह गरिएको छ ।
जिल्लाका सरोकारवाला र सडक बोर्डका प्रतिनिधिबीच भएको छलफलमा नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य पूरा नहुँदासम्म सङ्कलन कार्य सुरु गर्न उपयुक्त नहुने भन्दै दस्तुर सङ्कलन रोक्न आग्रह गरिएको छ । “अहिले नारायणगढ–बुटवल सडकको वैकल्पिक मार्गको रूपमा यो खण्ड प्रयोग भइरहेको छ, अर्कोतर्फ सङ्कलन केन्द्र पनि अनुपयुक्त स्थानमा भएकाले अहिले दस्तुर सङ्कलन कार्य उपयुक्त छैन भनेर स्पष्ट रूपमा भनिएको,” जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले भन्नुभयो ।
सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश केसीले भुमही–भैरहवा सडक खण्डमा सवारीसाधनको चाप बढ्दै गएकाले सडक मर्मत–सम्भारका लागि पनि दस्तुर सङ्कलन गर्नुको विकल्प नभएको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य ध्रुवबहादुर प्रधानले जनताले सुविधा महसुस नगरेसम्म कर लगाउने आधार नहुने बताउँदै दस्तुर उठाउनका लागि आवश्यक पूर्वाधार समेत पूरा निर्माण नभएको बताउनुभयो ।
प्रदेशसभा सदस्य बैजनाथ कलवारले हुलाकी र बाइपास सडकबाट दस्तुर उठाउने नीति गलत भएको भन्दै बैंकको ऋण तिर्न नसक्ने जनताले कर कसरी तिर्ने भन्दै असहमति जनाउनुभयो । सो क्रममा जिल्लाका राजनीतिक दलका प्रमुखहरूले पनि तत्कालका लागि सडक दस्तुर सङ्कलन कार्य रोक्न माग गरेका थिए ।