टोपलाल अर्याल
रेसुंगा, साउन १३ गते । गुल्मीमा कालिगण्डकी करिडोरसहित मुख्य तीन सडक अवरुद्ध भएका छन् । कालिगण्डकी गाउँपालिका–१ को गगरेमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
करिडोरको गुल्मी खण्ड अहिलेको बर्सातमा मात्र १० भन्दा बढि पटक अवरुद्ध भएको छ । त्यस्तै गुल्मीको रुद्रवेणी–वामी सडक पनि अवरुद्ध भएको छ ।
यो सडकको दुई स्थानमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सत्यवती गाउँपालिका–६ को डहरे खोलामा पानीको सतह बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । गुल्मीमा मङ्गलबारदेखि पानी परिरहेको छ ।
सडक पूर्ण रुपमा अवरुद्ध भएकाले पानी बन्द नभएसम्म सञ्चालनको सम्भावना नरहेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । उहाँले पानी रोकिने वित्तिकै सडक सञ्चालनका लागि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्र विकको कमाण्डमा प्रहरी टोली खटिरहेको बताउनुभयो ।
त्यस्तै मुसिकोट नगरपालिका–५ को तल्लोफाँटमा पनि खोला बढेपछि सडक अवरुद्ध भएको छ । सो खोलामा पनि पुल निर्माणको काम समयमै नहुँदा पानी परे सडक अवरुद्ध हुने समस्या रहेको छ । गुल्मीका विभिन्न स्थान र बाग्लुङ्गसम्म पुग्ने यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
यो डहरे खोलामा वर्षातमा घण्टौ सडक रोकिन्छ । तल घाम लागेपनि लेकमा पानी परे बाढी आउँछ । मोटरसाइकल बग्ने र जोखिम मोलेर खोला तर्नेहरुका कैयौ पीडा छन् । रिडी–रुद्रवेणी–वामीटक्सार सडक ०३५ सालमा बिस्तार भएको हो । दैनिक सयौ गाडी गुड्ने रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डको डहरे खोलामा पुल निर्माणको काम सकिएको छैन जसले अझै सास्ती भइरहेको छ । रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डका चार पुल प्याकेजमा निर्माण हुँदैछन् । एउटै ठेक्कामार्फत डहरेसहित नादेवा, भार्से र गिदीखोलामा पुल निर्माणको सम्झौता भएको छ ।