ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले १७ हजार जनाको आँखा परीक्षण तथा उपचार गरेको छ । आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न शिविर, घुम्ती आँखा परीक्षण कार्यक्रम र उपचार केन्द्रमार्फत आँखाका बिरामी तथा सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार गएको आवमा कुल १७ हजार ३४१ जनाको आँखा परीक्षणका साथै उपचार गरिएको छ ।
सदरमुकाम फुङलिङमा रहेको आँखा उपचार केन्द्रमार्फत छ हजार ६४७ जनाको आँखा परीक्षण तथा उपचार गरिएको वरिष्ठ नेत्र अधिकृत गुरुङले जानकारी दिनुभयो । उक्त सङ्ख्यामध्ये दुई हजार ९७० जना पुरुष र तीन हजार ६७७ जना महिला रहेका छन् । उमेरका हिसाबले उपचार केन्द्रमार्फत सेवा प्राप्त गर्नेमा १५ वर्षमाथिका पाँच हजार ५८८ जना र १५ वर्षमुनिका एक हजार ५९ रहेका पनि गुरुङले जानकारी दिनुभयो ।
आँखा उपचार केन्द्रबाहिर जिल्लाका विभिन्न ८० वटा विद्यालयमा सञ्चालित आँखा जाँच कार्यक्रममार्फत छ हजार नौ सय विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको छ । वरिष्ठ नेत्र अधिकृत गुरुङका अनुसार तीन हजार ४०७ छात्र र तीन हजार ४९३ छात्राको आँखा परीक्षण तथा उपचार गरिएको छ । आँखा परीक्षण गरिएकामध्ये ५३९ छात्रछात्राको आँखामा समस्या फेला परेको उहाँले जानकारी दिनुभयो । विद्यालयमा सञ्चालित आँखा जाँच कार्यक्रममार्फत सम्बन्धित विद्यालयका शिक्षकसमेतको आँखा परीक्षण तथा उपचार गरिएको थियो । जिल्लाका विभिन्न १८ स्थानमा आँखा जाँच कार्यव्रmम सञ्चालन गरिएको र कार्यव्रmममार्फत ८३३ पुरुष र ७०१ महिला गरी एक हजार ५२५ जनाले सेवा प्राप्त गरेका वरिष्ठ नेत्र अधिकृत गुरुङले जानकारी दिनुभयो ।
गत आवभित्र फुङलिङस्थित आँखा उपचार केन्द्रसहित विभिन्न चार ठाउँमा सञ्चालित शल्यक्रियासहितको शिविरमार्फत दुई हजार २६९ जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् । गुरुङका अनुसार शिविरमार्फत मोतीविन्दु भएका १९७ जना बिरामीको आँखाको शल्यव्रिmया गरिएको छ । गएको आवमा आँखा उपचार सेवा लिएका ४० वर्षमाथिका करिब दुई हजार चार सय जनालाई पावरवाला चस्मा (अक्षर पढ्न मिल्ने) निःशुल्क वितरण गरिएको पनि उहाँले बताउनुभयो ।
आँखामा समस्या देखिएका ३६९ जना विद्यार्थीलाई पनि चस्मा निःशुल्क वितरण गरिएको आँखा उपचार केन्द्रले जनाएको छ । आँखा उपचार केन्द्रको प्राविधिक सहयोग र विभिन्न स्थानीय तह तथा विद्यालयको समन्वयमा आँखा जाँच कार्यक्रम सञ्चालन गरी गाउँ गाउँमा सर्वसाधारणलाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाका सभापति राजकुमार गुरुङले बताउनुभयो ।
चालु नयाँ आवका लागि पनि आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिइने शाखा सभापति गुरुङको भनाइ छ । यता आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिने गरी विभिन्न स्थानीय तहसँग समन्वय भइरहेको शाखाका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उपसभापति अधिकारीका अनुसार सर्वसाधारण सेवाग्राहीलाई सेवा प्रवाह गर्ने गरी शल्यक्रियासहितको आँखा शिविर र गाउँ गाउँमा आँखा जाँच कार्यक्रम सञ्चालन गर्नका लागि सम्बन्धित तह तथा निकायसँग समन्वय गर्न सुरु भएको छ ।