• १३ साउन २०८२, मङ्गलबार

ताप्लेजुङमा बढ्दै सम्बन्धविच्छेद गर्नेको सङ्ख्या

blog

ताप्लेजुङ जिल्ला अदालतको कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, साउन १३ गते ।
ताप्लेजुङमा सम्बन्धविच्छेद गर्ने बढेका छन् । ताप्लेजुङ जिल्ला अदालतका अनुसार पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएका हुन् । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये झण्डै आधा सम्बन्धविच्छेदसँग सम्बन्धित मुद्दा रहेका छन् ।

गएको आर्थिक वर्ष २०८१/८२ मा २८० जनाले सम्बन्धविच्छेद गरेका छन् । अघिल्लो आवबाट जिम्मेवारी सरी आएकोसमेत कुल ५७९ थान मुद्दा रहेकोमा उक्त सङ्ख्यामा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा रहेको जिल्ला अदालतका सूचना अधिकारी बिष्णुकुमार राईले जानकारी दिनुभयो । राईका अनुसार अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदसम्बन्धी २८० थानमध्ये २३७ थान मुद्दा फर्छ्यौट  भएको छ ।

सम्बन्ध विच्छेदसम्बन्धी ४३ थान मुद्दाको फर्छ्यौट  गर्ने दायित्व चालु नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि जिम्मेवारी सरेको पनि राईले जानकारी दिनुभयो । जिल्ला अदालतका अनुसार गएको आवमा सम्बन्ध विच्छेदसमेत गरी कुल ४२० थान मुद्दाको फर्छ्स्यौट भएको छ । नयाँ आवका लागि १५९ थान मुद्दाको जिम्मेवारी सरी आएको र अब आउँदो साउन १८ गतेदेखि ताप्लेजुङ जिल्ला अदालतको इजलास सुरु हुने जिल्ला न्यायाधीस विकास श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै कैद सजायतर्फ एक हजार २३७ वर्ष पाँच महिना दुई दिन असुल गर्नुपने लगत रहेकोमा हालसम्म ११९ वर्ष छ महिना चार दिन मात्र असुल भएको अर्थात फर्छ्यौट भएको अदालतले जनाएको छ । जरिवानातर्फ कुल लगत तीन करोड ३७ लाख ४९ हजार २२९ रुपियाँ रहेकोमा गएका आव सम्ममा १५ लाख २९ हजार ९४७ रुपियाँ असुल भएको पनि जिल्ला अदालतले जनाएको छ ।