• १३ साउन २०८२, मङ्गलबार

पर्यटकीय गन्तव्य बन्दै बोप्ताङ

blog

बोप्ताङडाँडाबाट देखिने सप्तकोशीको सुन्दर दृश्य हेर्दै विद्यार्थी । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, साउन १३ गते ।  तराई र पहाडको सङ्गमस्थल बोप्ताङडाँडा पछिल्लो समय पर्यटकको गन्तव्य बनेको छ । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ मा पर्ने बोप्ताङडाँडाबाट देखिने सप्तकोशी नदीको मनोरम दृश्य, कोशीटप्पु वन्यजन्तु आरक्षलगायत प्राकृतिक सौन्दर्य निहार्ने पर्यटकको गन्तव्य बन्दै गएको हो । 

चिसो मौसम, अर्गानिक ठाउँ र वातावरणका कारण धेरैको आकर्षणको केन्द्र बनेको बोप्ताङडाँडाबाट देखिने सप्तकोशी नदी, हरियाली डाँडा, पाखा छहराको मनोरम दृश्यले धेरैको मन लोभ्याउँदै आएको छ । पछिल्लो समय गाईघाट, बेलटार, फत्तेपुर, धरान, इटहरी, विराटनगर, दमकलगायतका स्थानबाट आन्तरिक पर्यटकको राम्रो गन्तव्य बन्दै गइरहेको छ । 

समुद्री सतहबाट ९५० मिटर उचाइमा रहेको बोप्ताङडाँडा पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएपछि पर्यटकको दैनिक भिड लाग्ने गरेको छ । प्याराग्लाइडिङ सिक्ने स्थलका रूपमा राम्रो मानिने बोप्ताङडाँडाबाट प्याराग्लाइडिङसमेत उडाइने हुनाले साहसिक पर्यटनका लागि समेत प्रख्यात बन्दै गएको छ । सुन्दरडाँडा र त्यहाँबाट देखिने सप्तकोशी नदी, तराईका सुन्दर फाँटको दृश्यावलोकन गर्न विद्यार्थीदेखि पाकासम्म आउने गरेका बेला नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा कोशीमा बनेको पुलले ओझेलमा परेको यस क्षेत्रको आकर्षक पर्यटकीय स्थलमा पर्यटको आगमन बढ्दै गएको छ । पछिल्लो समय दैनिक एक हजारभन्दा बढी मानिस घुम्न आउने गरेका छन् । आन्तरिक पर्यटक आसपासका पालिकादेखि पूर्वी नेपालका विभिन्न स्थानबाट दृश्यावलोकनकै लागि आउने गरेका छन् ।” बोप्ताङडाँडाबाट झरेपछि कोशी पुल वरपर रहेका स्तरीय होटेलदेखि साना खाजानास्ताका तीन दर्जनभन्दा बढी होटेल सञ्चालनमा रहेका छन् । दैनिक मानिसको बाक्लो उपस्थिति हुँदा व्यापारसमेत राम्रै हँुदै आएको होटेल सञ्चालक बताउँछन् । भाइरल बोप्ताङडाँडाको वातावरणमा रमाउन बढी युवापुस्ता पुग्ने गरेका छन् । डाँडाआसपासको पर्यावरणले पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ । 

तराईको उखरमाउलो गर्मी छल्न छोटो दुरीमै पुग्न सकिने तराई, पहाड र सप्तकोशीको मनरोम दृश्य हेर्ने सङ्गम बोप्ताङडाँडामा दैनिक हजारभन्दा बढीको सङ्ख्यामा मानिसको चहलपहल हुने गरेको बताइएको छ । छोटो दुरीमै पुगिने भएकाले ठुलो सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 

यस क्षेत्रबाट देखिने पर्यावरणले पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ । नौ वर्षअगाडि चतरास्थित सप्तकोशी नदीमा एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भएको मोटर जाने पुल बनेसँगै बोप्ताङडाँडा सबैको रोजाइमा पर्दै आएको स्थानीयको भनाइ छ ।  धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्र मन्दिर र कोशी पुलमा घुम्न आउने बोप्ताङडाँडा पुगेर फर्कने गरेकोे वडाध्यक्ष बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोशीमा पुल सञ्चालमा आएदेखि नै आन्तरिक पर्यटकको चहलपहल बढ्दै आएको छ ।” 

चतराको कोशी पुल तरेपछि सोमबारेबाट चार किलोमिटर उत्तर उकालो लागेपछि बोप्ताङडाँडा पुगिन्छ । डाँडाको थप सौन्दर्यीकरण गर्न वडाले केही बजेट छुट्याएको वडाध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार कच्ची सडक भएर पुग्ने डाँडामा साना भ्यान, अटो, ठुला बस र मोटरसाइकलबाट सहज रूपमा पुग्न सकिन्छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको बोप्ताङडाँडाको थप विकासका लागि प्रचारप्रसारका साथै भौतिक विकासका काम हुनुपर्ने स्थानीयको भनाइ छ । भौगोलिक हिसाबले अत्यन्तै उर्वर र फराकिलो सम्भावना बोकेको यस क्षेत्रलाई पर्यटकीय स्थलमा विकास गर्दै प्रवर्धन गर्न सके यस क्षेत्रकै विकास हुने थियो ।