यदुप्रसाद भट्ट
मनाङ, साउन ८ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङबाट आर्थिक वर्ष २०८१/०८२ मा ३५ लाख ९१ हजार ६४० रुपियाँ राजस्व जम्मा भएको छ । मनाङबाट विभिन्न जडिबुटीहरू यार्सागुम्बा, वन लसुन र जिम्बु सङ्कलन तथा निकासी गर्दा उक्त रकम बराबरको राजस्व जम्मा भएको हो ।
मनाङ क्षेत्रअन्तर्गत ११ वटा संरक्षण क्षेत्र व्यवस्थापन समिति छन् । ती समितिहरूले आव २०८१/०८२ मा १४ लाख ५६ हजार ३८० रुपियाँ आम्दानी गरेका छन् । यसैगरी, मनाङका चारवटै गाउँपालिकाले १६ लाख ९० हजार ८६० रुपियाँ आम्दानी गर्न सफल भएका छन् ।
यार्सागुम्बा सङ्कलनका लागि चार सय ८८ जना स्थानीय तथा एक हजार ३६ जना बाह्य जिल्ला गरी एक हजार ५२४ जनाले पुर्जी लिएका थिए । उनीहरूबाट ११२.६९३ किलो यार्सागुम्बा निकासी भएको छ ।
यसैगरी, स्थानीय २१४ र बाह्य ७१५ जना गरी जम्मा ९२९ जनाले वन लसुन खन्न पुर्जी लिएकाहरूबाट तीन हजार ३६ किलो वन लसुन निकासी भएको छ । साथै सोही क्षेत्रबाट ९१० किलो जिम्बु निकासी भएको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।
औषधिय गुणले भरिपूर्ण यार्सागुम्बा विश्वकै महँगो जडिबुटीमध्ये पर्दछ । प्रत्येक वर्ष स्थानीय र बाह्य सङ्कलकहरूद्वारा सङ्कलन मनाङको उच्च हिमाली भेगमा यी जडिबुटीहरू पाइन्छ । जडिबुटी सङ्कलन र निकासीबाट ३५ लाख ९१ हजार ६४० रुपियाँ राजस्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ प्रमख ढकबहादुर भुजेलले बताउनुभयो ।
भुजेलका अनुसार जडिबुटी सङ्कलन तथा व्यापारले स्थानीय जनताको आय वृद्धि, रोजगारी सिर्जना तथा गाउँपालिकाको आम्दानीमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । तर, उहाँले जडिबुटीको दिगो व्यवस्थापन र संरक्षणका लागि सङ्कलन प्रक्रिया वैज्ञानिक ढङ्गबाट सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
‘‘जडिबुटी सङ्कलन केवल आम्दानीको स्रोत मात्र होइन, यो हाम्रो जैविक सम्पदासँग जोडिएको विषय हो । अतः यसको दिगो उपयोग र भविष्यका लागि संरक्षण अपरिहार्य छ,’’ प्रमुख भुजेलले भन्नुभयो ।
यसैबीच, एक्यापले सङ्कलनकर्तालाई वातावरणीय सचेतना, वनको संरक्षण, सुरक्षित सङ्कलन विधि र नियमहरूको पालनासम्बन्धी तालिमसमेत प्रदान गरेको बताइएको छ । आगामी वर्षहरूमा जडिबुटीको वैज्ञानिक परीक्षण, गुणस्तरको आधारमा मूल्य निर्धारण तथा निर्यातलाई प्रोत्साहन गर्ने योजना रहेको पनि प्रमुख भुजेलले जानकारी दिनुभयो । मनाङजस्ता उच्च हिमाली क्षेत्रहरूमा जैविक स्रोतहरूको उचित व्यवस्थापन र संरक्षण गरिएमा स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुग्न सक्ने देखिन्छ ।