• १३ साउन २०८१, आइतबार

स्थानीयद्वारा वडा कार्यालय घेराउ

blog

योजना छनोट प्रक्रियामा सहभागी नगराएको भन्दै वडा कार्यालयमा धर्ना दिदैं स्थानीय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ६ गते । स्थानीय तहले जनताको प्रत्यक्ष सहभागितामा योजना छनोट गर्नुपर्ने प्रावधान रहे पनि छनोट प्रक्रियामा सहभागी नगराएको भन्दै स्थानीयवासीले वडा कार्यालय घेराउ गरेका  छन् । धनगढी उपमहानगरपालिका –८ को वडा कार्यालयले गुपचुपमा योजना छनोट गरेको आरोप लगाउँदै सोही वडाको गणेश टोलवासीले सोमबार वडा कार्यालय घेराउ गरेका हुन् । आगामी आर्थिक वर्ष २०७९–८० का लागि वडामा योजना छनोट कार्य चुपगुपमा भएको उनीहरुको आरोप छ । 

योजना छनोट गर्दा वडा कार्यालयले कुनै पनि जानकारी नगराएको गणेश टोल विकास समितिका अध्यक्ष कमला ओली बुढाथोकीले बताउनुभयो । ‘टोल भेला नगरेको वडा कार्यालयले वडा भेला गर्दा पनि कुनै जानकारी गराएन’ उहाँले भन्नुभयो, ‘एकैचोटी वडा भेला भइसकेको सुन्नमा आयो ।’

आफ्ना्े टोलमा बाटो, खानेपानी, विद्युत पोललगायतको समस्या रहे पनि वडाले जानकारी नगराउँदा कुनै पनि योजना नपरेको अध्यक्ष ओलीको भनाइ छ । उहाँले तीन वर्षदेखि भइरहेको डेढ सय मिटर कालोपत्रेको काम अझै पनि अधुरै रहेको बताउनुभयो । 

स्थानीय तहमा योजना छनोट पहिलो खुड्किलो टोल वडा भेला हो । टोल भेला गरेर बस्तीबाट आएको योजनालाई प्राथमिकीकरण गरी वडाले पालिकामा पठाउने प्रावधान रहेको छ । यसवर्ष चुनावमा समय दिएका कारण कतिपय स्थानीय तहले टोल भेला नगरी टोल विकास समितिबाट सिधै योजना माग गरेका छन् । 

वडा भेला गर्दा गणेश टोल विकास समितिलाई बोलाउन छुटेको वडा कार्यालयले स्वीकार गरेको छ । तर, टोलवासीको गुनासो र मागलाई सम्बोधन गरिने वडा अध्यक्ष जुगराम चौधरीले बताउनुभयो । ‘हामीले अहिलेसम्म उपमहानगरपालिकामा योजना पठाइसकेका छैनौं’, उहाँले भन्नुभयो, ‘सो टोलको जायज मागलाई पनि समेटेर उपमहानगरपालिकामा पठाउँछौं ।’ 

आगामी आर्थिक वर्षमा अधुरा सबै योजनालाई प्राथमिकता दिएर सम्पन्न गर्नेगरी काम गर्न उपमहानगरपालिकाले पत्राचार गरेकाले सोहीअनुसार काम गर्ने वडा अध्यक्ष चौधरीको भनाइ छ । ‘क्रमागत अधुरा योजनाको काम पूरा भएपछि मात्रै नयाँ योजनाको काम सुरु गर्छौ’ उहाँले भन्नुभयो । वडा ८ भित्र १९ वटा अधुरा योजनाहरु रहेको जनाइएको छ । वडा अध्यक्ष चौधरीले वडाले सडक निर्माण, खानेपानी व्यवस्था र विद्युतलाई प्राथमिकता दिएको चर्चा गर्नुभयो ।