यदुप्रसाद भट्ट
मनाङ, साउन ४ गते । मनाङको चामे गाउँपालिका–१ तिमाङको स्यार्क्यु खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएको छ । ४० टन भार वहन गर्न सक्ने क्षमता भएको बेलिब्रिज ३० मिटर ४५ सेन्टिमिटर लम्बाइ र ४ मिटर २० सेन्टिमिटर चौडाइको छ ।
सो बेलिब्रिज निर्माणपश्चात् वर्षाको बेलामा आउने बाढीपहिरो आदिबाट ग्रसित मनाङीले अब माथिल्लो मनाङसम्म सजिलै यात्रा गर्न सक्ने प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताउनुभयो ।
विगतका वर्षहरुमा बाढीपहिरोबाट पाएको दुःखलाई दृष्टिगत गर्दै भौतिक पूर्वाधार मन्त्रालयबाट रकम निकासा गराई निर्माणाधीन मर्स्याङ्दी हाइड्रोपावरको सहयोगमा बेलिब्रिज जडान गरिएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँले विगत वर्षमा काठको अस्थायी पुल रहेको र बाढीपहिरो भेलसँगै बगाएर लैजाँदा मनाङीहरुलाई आवतजावतमा धेरै समस्या परेकाले बेलिब्रिज बनाइएको बताउनुभयो ।
औपचारिक रुपमा उद्घाटन नगरिए पनि प्रयोग गर्न मिल्ने अवस्थामा सो बेलिब्रिज छ । बेलिब्रिज निर्माण सम्पन्न भएपछि आवतजावतमा सहजता भएको छ ।
चामे गाउँपालिका वडा नं. १ का वडाध्यक्ष खड्कजंग गुरुङले विशेषगरी माथिल्लो मनाङ जाने सबैलाई यसले सहजता थपेकोमा खुसी व्यक्त गर्नुभयो । निर्माणाधीन मर्स्याङ्दी हाइड्रोपावरको गाडीहरु निर्बाध रुपले सञ्चालनमा आएका छन् । बेलिब्रिज सञ्चालनमा आएपछि बेँसीशहरदेखि मनाङसम्मको यात्रा थप सहज हुने सडक डिभिजन कार्यालय लमजुङले जनाएको छ ।