• ४ साउन २०८२, आइतबार

पोखरी सौन्दर्यीकरण अभियान निष्प्रभावी

blog

हिमाल लम्साल

वीरगन्ज (पर्सा), साउन ४ गते । वीरगन्ज महानगरपालिका–१६, नगवाकी राधिकादेवी २०७५/७६ सालमा मधेश प्रदेश सरकारले नगवा पोखरी मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत सौन्दर्यीकरण गर्ने योजनाले निकै खुसी हुुनुहुन्थ्यो । आफ्नै घरनजिकै रहेको पोखरी व्यवस्थित भएसँगै छठ पूजा गर्न सहज हुने आशाले पनि उहाँसहितका नगरवासीलाई हर्षित बनाएको थियो । 

उहाँको त्यो खुसी लामो समय टिक्न सकेन । नगवापोखरी सौन्दर्यीकरण थालेको पनि छ वर्ष बितिसक्यो तर अहिलसम्म पनि पोखरी निर्माणको काम सकिएको छैन । पोखरीको मध्यभागमा सूर्यनारायणको मन्दिर बनाउन गाडेको छड पनि खिया लागिसक्यो । पोखरी वरपर सौन्दर्यीकरणको काम विगत तीन वर्षदेखि अलपत्र छ । “हामीले त नगवा पोखरी बन्ला भनेर ठुलो आशा गरेका थियौँ तर, अहिले त हाम्रो आशा निराशामा बदलिसकेको छ”, राधिकादेवीले भन्नुभयो, “बिचैमा अलपत्र पार्ने हो भने किन पोखरी बनाउने अभियान थालेको त ?”

मधेश प्रदेश सरकारले आव २०७५/७६ र आव २०७६/७७ मा मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत पर्सा जिल्लामा मात्रै छ वटा पोखरी सौन्दर्यीकरणको योजना अघि सारेको थियो । तर, प्रदेश सरकारले अघि सारेका छवटै पोखरी निर्माणको काम तीन वर्षदेखि अलपत्र छ । पूर्वाधार विकास कार्यालय वीरगन्जका कार्यालय प्रमुख लालबाबु रायले सुरुआती चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै पोखरी सौन्दर्यीकरणका योजना अघि सारिएको बताउनुभयो । 

“मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जिल्लामा छवटा पोखरी निर्माण गर्न ३७ करोड ७६ लाख चार हजार ८४७ लागतमा ठेक्का सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “अहिलेसम्म छ वटै पोखरी निर्माणको काम बिचैमा रोकिएको छ ।” 

त्यसैको एक कुरूप नमुना हो नगवापोखरी । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वीरगन्ज–१६ स्थित नगवापोखरी सौन्दर्यीकरणका लागि २०७६ वैशाख २३ गते पे्ररा, रञ्जन संयुक्त उपक्रम (जेभी) ललितपुरसँग १० करोड एक लाख ३० हजार ६०९ को ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार नगवापोखरी सौन्दर्यीकरणको काम २०७८ वैशाख १४ गतेभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो तर अहिलेसम्म पोखरीको निर्माणको काम ५० प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ । 

नगवापोखरीको मध्यभागमा सूर्यनारायणको मन्दिर निर्माण गर्ने, मन्दिर वरपर सौन्दर्यीकरणको काम पनि बिचैमा अलपत्र अवस्थाबाट गुज्रिरहेको छ । निर्माण कम्पनीले हालसम्म तीन करोड ९७ लाख ८७ हजार ५७६ रकम भुक्तानी पाएको छ । 

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह प्रदेश सरकारले अघि सारेका वीरगन्जका आधा दर्जन पोखरी सौन्दर्यीकरणका योजना अलपत्र हुँदा महानगरलाई अनावश्यक दोषारोषण हुँदै आएको गुनासो गर्नुहुन्छ । “मधेश प्रदेश सरकारले अघि सारेका वीरगन्जका पोखरी सौन्दर्यीकरण गर्ने योजना वर्षाैंदेखि अलपत्र हुँदै आइरहेका छन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले अघि सारेको योजना छ वर्षदेखि अलपत्र छन् । प्रदेश सरकारले काम गर्न नसक्ने हो भने प्रक्रिया पूरा गरेर महानगरलाई हस्तान्तरण गरे हुन्छ नि ।”  

मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गत अघि बढाइएको वीरगन्ज–१२ स्थित मुर्लीपोखरी सौन्दर्यीकरणको काम पनि अलपत्र छ । सो पोखरीको ठेक्का पनि पे्ररा–रञ्जन जेभीले १० करोड ४३ लाख १७ हजार ७५ लागतमा पाएको थियो । अहिलेसम्म पोखरी सौन्दर्यीकरणको काम ७५ प्रतिशत सकिएको छ तर बाँकी काम कहिले सम्पन्न हुने कुनै निश्चित छैन । 

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत पोखरी सौन्दर्यीकरण अभियान थाल्नुभएका तत्कालीन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले सार्वजनिक सम्पत्तिका रूपमा रहेका पोखरीहरुको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले पर्सा जिल्लामा आधा दर्जन पोखरी सौन्दर्यीकरणका योजना अघि सारे पनि अहिले अलपत्र हुँदा आफूलाई दुःख लागेको बताउनुभयो । “मुलुक कोभिड सङ्क्रमण महामारीको समयमा बजेट अभावका कारणले दुई वर्षसम्म निरन्तर रूपमा बजेट राख्न पनि सकेनौँ”, उहाँले भन्नुभयो, “एकातर्फ निर्माण कम्पनीले भुक्तानी माग गर्दै अदालतमा जानु र अर्कोतर्फ नयाँ बनेको प्रदेश सरकारले पोखरी सौन्दर्यीकरण अभियानको कार्यक्रमलाई बजेट निरन्तरता नदिनाले पनि अभियान अलपत्र बन्न पुग्यो ।” 

तत्कालीन मुख्यमन्त्री गद्दीले पछिल्ला वर्षमा प्रदेश सरकारले बजेट नै विनियोजन नगरेपछि काम अघि बढ्न नसकेको बताउनुभयो । “बजेट नै विनियोजन नगरेपछि त काम कसरी हुन्छ रु” उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमण देखापरेपछि नै यहाँको काम ठप्प छ । की त काम अघि बढाउनु पर्‍यो की त ठेक्का तोड्नुपर्ने हुन्छ ।” 

त्यस्तै अलपत्र पर्ने अर्को योजनामा परेको छ–छिपरमाई पोखरी सौन्दर्यीकरण । सो पोखरी सौन्दर्यीकरण गर्नका लागि १० करोड ४४ लाख ६३ हजार एक सय ८० लागतमा निर्माण थालनी भएको थियो । 

सो पोखरीको निर्माणको ठेक्का पनि पे्ररा/रञ्जन जेभीले नै प्राप्त गरेको थियो । पूर्वाधार विकास कार्यालयका अनुसार सो पोखरीको प्रगति मुस्किलले २५ प्रतिशत मात्रै भएको छ । सो पोखरीको ठेकेदार कम्पनीले दुई करोड १४ लाख ६१ हजार आठ सय ५४ रकम बुझिसकेको छ । सौन्दर्यीकरणको अभियान भने जहाँको तहीँ छ ।

वीरगन्ज महानगरपालिका–१५ स्थित लक्ष्मणवा पोखरी सौन्दर्यीकरण योजना पनि अलपत्रकै सूचीमा दर्ज हुँदै आइरहेको छ । सो पोखरी निर्माणका लागि २०७७ फागुन १० गते सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रालिलाई दिइएको थियो । ठेक्का सम्झौताअनुसार सो पोखरीको सौन्दर्यीकरणको काम २०८० वैशाख ११ गतेभित्रै सम्पन्न हुनुपर्ने थियो । तर, अहिलेसम्म सो पोखरीको सौन्दर्यीकरणको काम भने ७५ प्रतिशतभन्दा अघि बढ्न सकेको छैन । सो पोखरीको निर्माण कम्पनीले हालसम्म  एक करोड २८ लाख ३६ हजार ५३९ रकम भुक्तानी लिइसकेको छ । 

सो पोखरी निर्माणका लागि २०७७ फागुन ११ गते तीन करोड छ लाख ३१ हजार ३५३ लागतमा नार्गाजुन/हेम/सर्बसक्री जेभीले पाएको थियो । सम्झौताअनुसार सो पोखरी २०८० वैशाख ११ गतेभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, अहिलेसम्म  सो पोखरीको प्रगति ३० प्रतिशतमा नै खुम्चिएको छ । तीन वर्षदेखि पोखरी निर्माणमा सिन्को भाँच्ने कामसमेत भएको छैन ।  

त्यस्तैगरी, मधेश प्रदेश सरकारले वीरगन्ज महानगर क्षेत्रभित्रै मूर्ली बगैँचा सौन्दर्यीकरणको काम पनि २०७७ फागुन ११ गते विकोइरकिशोर जेभीसँग दुई करोड पाँच लाख ४१ हजार दुई १० लागतमा तीन वर्षभित्रै सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्‍यो । तर, सो पोखरी निर्माणको काम पनि कछुवा गतिमा नै सीमित छ । हालसम्म सो पोखरीको प्रगति २० प्रतिशत भए पनि निर्माण कम्पनीले अहिलेसम्म भुक्तानी पाएका छैनन् । पूर्वाधार विकास कार्यालयका अनुसार पर्साका छ पोखरीमध्ये पाँच पोखरीको निर्माणका लागि हालसम्म १४ करोड ७९ लाख ८६ हजार दुई सय ७६ रकम भुक्तानी भइसकेको छ ।

कार्यालय प्रमुख रायले पर्साका पोखरी सौन्दर्यीकरण योजनाको म्याद थप नहुनु र बजेट अभाव मुख्य समस्या रहेको बताउनुभयो । “मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएदेखि पोखरी सौन्दर्यीकरणको योजना अघि बढ्न सकेको छैन ।” छ वटै पोखरी सौन्दर्यीकरण गर्ने अभियानको फाइल भने २०७९ सालदेखि पूर्वाधार विकास कार्यालय मातहत आएको छ । सोही समयदेखि पोखरी निर्माणको काम पनि अघि बढ्न सकेको छैन । “पोखरी सौन्दर्यीकरणको विवाद विभिन्न निकायमा पुगेकाले पनि काम अघि बढ्न सकिरहेको छैन”, उहाँले भन्नुभयो । 

पोखरी सौन्दर्यीकरणको ठेक्का पाएका निर्माण कम्पनीले आफ्नो भुक्तानी पाउनुपर्ने माग राख्दै अदालतमा मुद्दा समेत दायर गरेका छन् । अर्कोतर्फ पोखरी सौन्दर्यीकरण गर्ने विषयमा आवश्यक फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले अनुसन्धान भइरहेको बताइएको छ । 

मधेस प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका निमित्त सचिव सञ्जयप्रसाद साहले पर्याप्त बजेट अभावले पोखरी सौन्दर्यीकरणको अभियान प्रभावकारी ढङ्गले अघि बढ्न नसकेको बताउनभयो । “मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गतका कार्यक्रम विगतमा मुख्यमन्त्री कार्यालय मातहत अघि बढाइएको थियो । तर, अहिले बजेट अभावले काम अघि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “चालु आवमा पोखरी सौन्दर्यीकरण अभियानअन्तर्गतका प्रतियोजना एक लाख मात्रै बजेट छुट्याएकाले पनि काम हुन सकिरहेको छैन ।” निमित्त सचिव साहले आगामी आवको बजेटमा पनि पोखरी सौन्दर्यीकरणका योजनामा पर्याप्त बजेट विनियोजन नभएकाले समयमा नै सम्पन्न हुनेमा आशङ्का कायमै छ । 

मधेस प्रदेशका अर्थमन्त्रालयका प्रवक्ता उपेन्द्र न्यौपानेले अलपत्र परेका पोखरी सौन्दर्यीकरणका योजनाको आवश्यक छानबिन गरेर छिट्टै निष्कर्षमा निकाल्ने योजना रहेको बताउनुभयो । “अलपत्र परेका पोखरी सौन्दर्यीकरणलाई व्यवस्थित गराउने विषयमा आवश्यक छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा केही पोखरीको सौन्दर्यीकरणको अभियानलाई अघि बढाइने छ ।” रासस