• ४ साउन २०८२, आइतबार

सडक जस्ताको तस्तै : चार दशकमा करोडौँ रकम खर्च

blog

होमराज रानाभाट 

देबचुली (नवलपरासी), साउन ४ गते । पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले धौबादी सडक निर्माण सुरु भएको ३९ वर्ष पुग्यो तर अहिलेसम्म सडकले सडक जस्तो स्वरूप लिन सकेको छैन । 

यो सडकमा हरेक वर्ष सवारी दुर्घटनामा स्थानीको ज्यान जाने गरेको छ । वर्षाका बेला पहिरो खस्दै जाने तर मर्मतसम्भार नहुने भएपछि स्थानीयलाई सडकले सुखभन्दा सास्ती दिने गरेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । यो सडक भएर पहाडी दुई गाउँपालिका हुँदै तनहुँ, पोखरा र पाल्पा जोड्ने सडकको अहिले स्तरोन्नतिका काम सबै रोकिएको बौदीकाली गाउँपालिकाका पूर्वअध्यक्ष दुर्गा रानामगरले गुनासो गर्नुभयो । 

सुगम जिल्लाका रूपमा मानिएको नवलपरासी जिल्लामा अझै पनि दुई गाउँपालिका पहाडी क्षेत्रमा रहेका छन् । यहाँका बासिन्दालाई तराईसँग प्रत्यक्ष जोड्ने सडक यातायात खासै राम्रो हुन नसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष ओझाले बताउनुभयो । 

२०४५ सालदेखि सुरु भएको पहिलो चरण अन्तर्गत बुलिङटार धौबादी दलदले ४३ किलोमिटर सडकको ट्रयाक खोल्न मात्रै झन्डै २० वर्ष लाग्यो । ट्रयाक खुले पनि सो बाटो बर्खा लाग्नासाथ भत्कने, बिग्रने जस्ता कारणले पनि राम्रोसँग चल्न नसकेको बुलिङटार गाउँपालिका–४ का वडाध्यक्ष मीनबहादुर आलेमगरले बताउनुभयो ।

तत्कालीन गाविस र जिल्ला विकास समितिले हरेक वर्ष बाटोको स्तरोन्नतिका लागि रकम विनियोजन गरेको भए पनि हालसम्म यो सडकले स्थायित्व लिन नसक्दा दुर्घटनामा परी धेरै स्थानीयले अकालमा ज्यानसमेत गुमाउन परेको स्थानीय समाजसेवी भबिलाल रानामगरले बताउनुभयो ।  

किन बन्न सकेन सडक  

ट्रयाक खोलेको ३० वर्षपछि सरकारले ४० किलोमिटर सडक स्तरोन्नति गर्न करिब ६५ करोड रुपियाँको लागतमा ठेक्का खोलेको थियो । सो ठेक्का अन्तर्गत सात वर्षदेखि निरन्तर काम हुँदै आए पनि विगत एक वर्षदेखि ठेकेदार नै बेपत्ता भएपछि अहिले यो सडकको काम रोकिएको स्थानीय हेमलाल बराल मगरले बताउनुभयो । 

ठेकेदारले काम नगर्ने, आधा काम गरेर भाग्ने जस्ता धेरै कारणले पनि यो सडक स्तरोन्नति हुन नसकेको दलदले धौबादी सडक उपभोक्ता समितिका सचिव ढाकाराम भट्टराईले बताउनुभयो । सडकको निर्माणको गति लिन नसक्नुमा स्थानीय उपभोक्ताको समेत कमजोरी रहेको बुलिङटार गाउँपालिका उपाध्यक्ष दिलमाया रानामगरले बताउनुभयो ।