• ४ साउन २०८२, आइतबार

गाउँको सुरक्षाका लागि ‘झाँक्री मेला’ (फोटो फिचर)

blog

भूमे–१ लुगुममा लागेको झाँक्री मेलामा झाँक्री नाच्दै । तस्बिर: जयमान बुढामगर

जयमान बुढामगर

रुकुमपूर्व, साउन ४ गते । मध्यपहाडी लोक मार्गको सामीप्य । ढुङ्गा र माटोबाट बनेको बाक्ला बस्ती । अग्ला पहाडको बिचमा रहेको छरुकुमपूर्व भूमे गाउँपालिका१ लुगुम गाउँ । यसै गाउँमा हरेक वर्षको साउनको पहिलो हप्ता एक दिन झाँक्री मेला लाग्ने गरेको छ । यस वर्ष लुगुम गाउँमा शनिवार झाँक्रीको मेला लागेको हो । 

धामीझाँक्री रूढिवादी र अन्धविश्वास जीवन पद्धति हो । तर यहाँका लागि भने मौलिक संस्कृति हो । गाउँछेउको पूर्वतिर अवस्थित चौतारामा अग्ला धुपी सल्लाका रूख छन्, तिनै धुपी सल्ला भएका ठाउँमा भेला हुन्छन् गाउँभरका झाँक्री । अनि लाग्ने गरेको छ झाँक्री मेला । 

परापूर्व कालदेखि नै लुगुमका झाँक्री जम्मा भएर मेला लाग्ने गरेको छ । साउनको १ र २ गते छाडेर मङ्गलबार वा शनिवार मध्ये जुन बार अघि आउँछ उक्त बारमा झाँक्री मेला आयोजना गर्ने प्रचलन रहेको भूमे१ का वडाध्यक्ष मनकाजी पुनमगरले जानकारी दिनुभयो । यस वर्ष शनिवार अघि आएकोले शनिवार झाँक्री मेला लागेको वडाध्यक्ष पुनमगरले बताउनुभयो । 

परापूर्वकालमा ‘काना सुरपाङ्गे’ नामक प्राकृतिक भूतको आत्मा रहेको बताइएको छ । उक्त आत्माले यो ठाउँ भएर आवतजावत गर्ने मान्छेलाई सताउने गरेको किंवदन्ती छ । लुगुमका राममाया घर्तीका अनुसार गाउँमा भूतले धेरै नै सताउन थालेपछि दिक्क भएर त्यस बेलाका रामजाली घर्ती मगरले सो भूतको आत्मालाई माटोमा छोपेको र त्यसबाट ब्युँझिन नदिन प्रत्येक वर्ष झाँक्रीको मेला लाग्ने गरेको छ । 

झाँक्री मेला विशेष गरी गाउँवासीको सुरक्षा अर्थात् अनिष्टबाट जोगाउन हरेक वर्ष साउनको पहिलो हप्ताको एक दिन मेला लाग्ने गरेको भूमे१ लुगुमका मनप्रसाद पुनमगरले बताउनुभयो । पुनमगरले भन्नुभयो, “हिउँदयाम भन्दा वर्षा याममा प्राकृतिक प्रकोपका घटना धेरै हुने गर्दछ । उक्त प्रकोपबाट गाउँवासीको सुरक्षा गर्न झाँक्री मेला लाग्ने गरेको छ ।” गाउँवासीको सुरक्षाका लागि मेला मार्फत झाँक्रीले गाउँको चारैतर्फ तन्त्रमन्त्र गर्ने गरेको पुनमगरले सुनाउनुभयो । 

लुकुम गाउँमा मात्रै करिब ७० जना झाँक्री छन् । यी सबै झाँक्री एकै साथ झाँक्री मेलामा नाच्ने गरेका छन् । झाँक्रीको आफ्नै पोसाक र ढ्याङ्ग्रो भाँडासहित नाच्ने गरेकाले यसलाई रोचक मेला मानिँदै आएको छ । मेला हेर्न स्थानीयवासीको साथै बाहिरबाट पनि उत्तिकै दर्शक आउने गरेका छन् ।