• ४ साउन २०८२, आइतबार

दुग्ध उत्पादक किसानलाई करोड पुरस्कार

blog

व्यास नगरपालिका–१३ स्थित बेलबास दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड ।

अमरराज नहर्की

तनहुँ, साउन ३ गते । गण्डकी प्रदेश सरकारबाट तनहुँका दुग्ध उत्पादक किसानले झण्डै एक करोड रुपियाँ पुरस्कार पाएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत सो रकम प्रोत्साहनस्वरुप किसानलाई प्रदान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।  

प्रतिलिटर तीन रुपियाँको दरले गत आर्थिक वर्ष २०८०–८१ मा ९७ लाख ४१ हजार ५३४ पुरस्कार स्वरुप नगद प्रदान गरिएको केन्द्रका प्रमुख रविसन अधिकारीले जानकारी दिनुभयो । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१–८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

केन्द्रमार्फत दूधमा पुरस्कार वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । किसानलाई आर्थिक वर्ष २०७९–८० मा ४३ लाख ७३ हजार अनुदान वितरण गरिएको थियो । अधिकारीले भन्नुभयो, “दुग्ध उत्पादनमा किसानलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर ३ का दरले अनुदान वितरण गरेकाछौँ ।’ ३२ लाख ४७ हजार लिटर दूधमा अनुदान वितरण गरिएको केन्द्रले जनाएको छ ।