• २ साउन २०८२, शुक्रबार

रोकियो भूमिगत विद्युतीकरणको काम

blog

भरतपुरको छ लेन सडक अन्तर्गत चितवन मेडिकल कलेजअगाडि वर्षाले गर्दा रोकिएको भूमिगत तारको काम । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, साउन २ गते । भरतपुर महानगरपालिकाको मुख्य क्षेत्रमा निर्माणाधीन भूमिगत विद्युतीकरणको काम बर्सातको समयमा रोकिएको छ । भूमिगत काम गर्न बर्सातमा समस्या भएको र सडक डिभिजन कार्यालयले सडक तथा पेटी खन्न नदिएपछि काम रोक्नु परेको हो । 

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीले तीन महिनाका लागि काम रोकिएको जानकारी दिनुभयो । “असार, साउन र भदौ महिनामा भूमिगत काम गर्न नमिलेका कारण अहिले रोकेका छौँ,” उहाँले भन्नुभयो, “वर्षा कम भएपछि पुनः कामलाई अगाडि बढाउने छौँ ।” 

कार्यालयले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डो खन्नेलगायतका काम रोकेको हो । पाइप गाडिसकिएका ठाउँमा केबुल जोड्ने, पोल गाड्नेलगायतका काम भने भइरहेको छ । सडक विभागले बर्सातभरि  खाल्टाखुल्टी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काम गर्न रोकेको छ । सडकछेउमा खाल्डो खन्दा सडकमा पानी पस्ने र भासिने जस्ता समस्या हुने भएकाले खन्ने काम बन्द गरेको कार्यालयले जनाएको छ ।

भूमिगत विद्युत्को कामको प्रगति अहिलेसम्म ७५ प्रतिशत रहेको छ । निर्माण कम्पनीले सामग्री ल्याउन ढिला गरेका कारण निर्माण सुस्त भएको उहाँले बताउनुभयो । अहिलेसम्म भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुलचोकबाट केन्द्रीय बस टर्मिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस टर्मिलनसम्मको सडकमा एकतर्फी भूमिगतको काम सकिएको छ । आयोजना प्रमुख सुवेदीले भन्नुभयो, “फाउन्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ ।” ३३ केभी जडानको काम सकिएको छ भने ११ केभी र ४०० भोल्टको केबुल राख्ने काम जारी छ ।

वर्षा सकिएपछि सडकको दायाँबायाँ खनेर काम गर्ने उहाँले बताउनुभयो । भरतपुर महानगरको पुलचोकदेखि हाकिमचोक, बसपार्क हुँदै गोन्द्राङसम्म, बसपार्कदेखि आँपटारीसम्मको बाइसपास सडक खण्डमा यो परियोजना सञ्चालनमा रहेको छ । त्यस्तै गरी आँपटारीदेखि पुलचोकसम्मको मुख्य राजमार्गको दायाँबायाँ क्षेत्रमा योजनाले काम गर्दै आएको छ । भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न एक अर्ब २० करोड रुपियाँमा ठेक्का लागेको छ । पोखरामा भने एक अर्ब ३० करोड रुपियाँमा काम भइरहेको उहाँले बताउनुभयो । 

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय विसं २०८० माघ ६ गते सकिएको थियो । निर्माणको काम नसकिएपछि आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको हो । थपिएको समयमा काम नभएपछि फेरि म्याद थप गर्दै निर्माणको काम अगाडि बढाइने प्रमुख सुवेदीले बताउनुभयो । एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।