ललित बसेल
सुर्खेत, असार ३२ गते । कर्णाली प्रदेशकै चर्चित पर्यटकीय बुलबुले ताललाई जीर्णोद्धार गरी नयाँ स्वरूप दिन लागिएको छ । बुलबुलेको मुख्य ताल जीर्ण भएको, पानी चुहिने जस्ता समस्या बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले पुरानै आकारमा नयाँ स्वरूप दिन लागेको हो ।
जमिनमुनिबाट पानी बुलबुल गर्ने मुख्य तालको पानी सुकाइएको छ । त्यहाँ पानी शुद्ध बनाउन बालुवा, तथा ढुङ्गा भर्न लागिएको छ । यस्तै तालको दक्षिण र पूर्वतिर रहेका पुराना धारामा काठमाडौँबाट ल्याइएका कलात्मक ढुङ्गेधारा जोडिएको छ । वीरेन्द्रनगर नगरपालिकाको पूर्वाधार समितिका संयोजक नवराज गुरुङले बुलबुले जीर्ण हुन थालेपछि पुरानै आकारमा नयाँ स्वरूप दिन लागिएको बताउनुभयो । उहाँले पुरानो स्वरूपलाई नबिगारी नयाँ रूप दिन लागिएको जानकारी दिनुभयो ।
नगरपालिकाको आफ्नै स्रोतबाट बुलबुलेको जीणोद्धार गर्न लागेको हो । उहाँका अनुसार पानी चुहिने मुख्य समस्याले जीर्णोद्धार गर्न लागिएको छ । उहाँले विगतमा बुलबुलेमा नुहाउने, लुगा धुने गरिएकोमा अब सो काममा रोक लगाइने जानकारी दिनुभयो । बुलबुलेमा नुहाउने, लुगा धुँदा यसको सौन्दर्यमा ह्रास आएकाले अब नयाँ स्वरूपमा बुलबुले बनेपछि नुहाउन र लुगा धुने काममा पूर्ण बन्देज लगाइने संयोजक गुरुङले बताउनुभयो । यस काममा रोक लगाएपछि बुलबुले आन्तरिक तथा बाह्य पर्यटकका लागि झन् महìवपूर्ण गन्तव्य हुने छ ।
नगरपालिकाले बुलबुलेलाई नयाँ स्वरूप दिन ४२ लाख ५५ हजार रुपियाँको लागत लाग्ने योजना निर्माण गरेको थियो । नगरपालिकाका इन्जिनियर यज्ञबहादुर कार्कीले निर्माण व्यवसायीले २७ लाख २१ हजारमा बुलबुले बनाउने गरी सम्झौता गरेको बताउनुभयो । उक्त कामको जिम्मा सुर्खेतको प्रसन्न निर्माण सेवाले लिएको छ । इन्जिनियर कार्कीका अनुसार आगामी असोज महिनाभित्रमा बुलबुले नयाँ स्वरूपमा देखिने छ । उहाँले अहिले मुख्य तालको पानी सुकाउने, ढुङ्गेधारा जडान गर्ने, प्लास्टर गर्ने काम भइरहेको भन्दै भदौदेखि असोज महिनाभित्र सम्पन्न हुने गरी काम जारी रहेको उल्लेख गर्नुभयो ।