• ३२ असार २०८२, बुधबार

सञ्चार क्षेत्रको गुणात्मक विस्तार

blog

नेपाल चीन र भारतबिच बफर स्टेटको रूपमा रहेको छ । एक लाख ४७ हजार ५१६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नेपालमा विश्वमा पाइने सबै प्रकारको हावापानी पाइन्छ । जैविक विविधताको दृष्टिकोणले विश्वको २९ औँ स्थानमा पर्ने नेपाल सामाजिक, सांस्कृतिक, प्राकृतिक र भौगोलिक दृष्टिकोणले सुरम्य र अद्वितीय छ । नेपाल प्राकृतिक र भौगोलिक दृष्टिकोणले उच्चकोटीको मुलुक हो, यद्यपि विश्वजगत्मा तुलनात्मक रूपमा विकास धिमा गतिमा छ । हामीले हाम्रो देशको सम्भावनालाई अवसरमा रूपान्तरण गर्नु पर्छ । 

नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा रूपान्तरण हुँदै छ । विकासमा धीरता र दिगोपनाका लागि मानव सम्पत्ति सूचकाङ्क, आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क र प्रतिव्यक्ति आयमा दिगो सुधार गर्नु परेको छ । जुन हाल नेपालमा क्रमशः ७६.३ प्रतिशत, २७.७ प्रतिशत र अमेरिकी डलर १३ सय रहेको छ । नेपाल मानव विकासको दृष्टिकोणले सन् २०२४ को आँकडा अनुसार ०.६०१ रहेको छ । यसमा नेपाल विश्वमा १४६ औँ स्थानमा पर्छ । मानव विकासको लागि शिक्षा, स्वास्थ्य र आयमा गुणात्मक विकास गरिनु पर्छ । देशको सामाजिक कलङ्कको रूपमा रहेको भ्रष्टाचारको समूल अन्त्य नभएसम्म सामाजिक आर्थिक र मानवस्रोतमा लगानी पर्याप्त हुँदैन । यसका लागि नयाँ दृष्टिकोण र मूल्यका साथ नीतिगत, संस्थागत र कार्यगत पहल सुरु गरिनु पर्छ । नीतिगत भ्रष्टाचारको अन्त्य हुनु पर्छ । 

हाल नेपाल भ्रष्टाचार अनुभूति सूचकाङ्कमा ३४ अङ्क प्राप्त गरी १८० देशमा १०७ औँ स्थानमा छ । कानुनको शासनसम्बन्धी सूचकाङ्कमा नेपालले १४२ देशमध्ये ६९ औँ स्थान प्राप्त गरेको छ । कानुनको शासन अन्तर्गत सार्क मुलुकमा भुटान र माल्दिभ्सबाहेक नेपाल पहिलो स्थानमा रहनु सुखद विषय हो । लैङ्गिक विकास सूचकाङ्कमा नेपालले ०.८८५ अङ्क प्राप्त गरेको छ भने दिगो विकास प्रगति अध्ययन अनुसार नेपालले १६६ मुलुकमध्ये ९९ औँ स्थान प्राप्त गरेको छ । विकासलाई सन्तुलित, समन्यायिक, वातावरणमैत्री, मानवकेन्द्रित, समृद्धियुक्त बनाउन नीति र कार्यनीतिलाई सामञ्जस्यता गरेर अगाडि बढाउनु परेको छ ।

नेपालको सामाजिक र भौतिक पूर्वाधारसम्बन्धी परिसूचकलाई विश्लेषण गर्दा आधारभूत खानेपानीको पहुँच प्राप्त जनसङ्ख्या ९६.७५ प्रतिशत रहेको छ । आधारभूत सरसफाइको पहुँच ९५.५ प्रतिशत छ । यातायातको अवस्था विश्लेषण गर्दा ३४ हजार २७६ किलोमिटर सडक सङ्घीय सरकारबाट निर्माण भएको छ । स्थानीय पूर्वाधार अन्तर्गत ६७ हजार किमी सडक विस्तार भएको छ । जनकपुर–जयनगर–बिजलपुरा रेलमार्ग ५२ किमी रहेको छ । सडक पुगेको गाउँपालिका र नगरपालिकाको सङ्ख्या ७३२ रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन छ भने सञ्चालनमा रहेका विमानस्थल ३३ छन् । यस परिदृष्यलाई विश्लेषण गर्दा सडक सुरक्षाको दृष्टिकोणले नेपालको अवस्था अपेक्षित कमजोर रहे पनि यातायात सञ्जालको दृष्टिकोणले सकारात्मक नै मान्नु पर्छ । नेपालमा ऊर्जा क्षेत्रको अवस्था विश्लेषण गर्दा सौर्य ऊर्जा ९७.४ मेगावाट, थर्मल ५३.१४ मेगावाट, वैकल्पिक ऊर्जा ८४.७४ मेगावाट र विद्युत् ऊर्जा ३०६०.१ मेगावाट रहेको छ । विद्युत्मा पहुँच प्राप्त जनसङ्ख्या ९६.७ प्रतिशत हुनुले उज्यालो नेपालको सपना साकार हुँदै गएको छ । ऊर्जा क्षेत्र अन्तर्गत नेपालको जलस्रोतको बहुउपयोग गर्न सकिएको छैन । विद्युत् निर्यातको अथाह सम्भावना रहे पनि उपलब्धि झिनो मात्र छ ।

सञ्चार क्षेत्रमा भएको विकास पनि नेपालमा सन्तोषप्रद नै छ । रेडियोको पहुँचप्राप्त जनसङ्ख्या ९३ प्रतिशत रहेको छ । डिजिटल टेलिभिजनको पहुँच प्राप्त जनसङ्ख्या ७२ प्रतिशत छ भने मोबाइल टेलिफोन ग्राहक घनत्व १२१.६ प्रतिशत र ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेका स्थानीय तह ७५३ रहेको छ । सञ्चार क्षेत्रमा भएको यो प्रगति सार्थक र उत्साहप्रद छ । विद्यालय शिक्षाको विश्लेषण गर्दा नेपालमा करिब ३६ हजार विद्यालय रहेका छन् । उमेर १५–२४ वर्षको साक्षरता दर ९४.२ प्रतिशत रहेको छ भने छ वर्ष माथिको साक्षरता ७६.३ र १५ वर्ष माथिको साक्षरता ७१.२ प्रतिशत रहेको छ । शिक्षा क्षेत्रमा भएको भौतिक र सङ्ख्यात्मक प्रगति सुखद देखिए पनि गुणात्मक पक्ष अपेक्षित कमजोर रहेको सन्दर्भमा शिक्षामा गरिएको लगानीलाई गुणस्तरसँग दाज्नुपर्ने देखिन्छ ।

शिक्षा र स्वास्थ्यलाई आधारभूत मौलिक अधिकारको रूपमा संवैधानिक हक प्रत्याभूत भएको छ । स्वास्थ्य क्षेत्रको विषय उजागर गर्दा नेपालमा २१५ अस्पतालसहित सात हजार ८५८ सरकारी स्वास्थ्य संस्था विद्यमान छन् । ९८ प्रकारका औषधीको निःशुल्क वितरणको व्यवस्था मिलाइएको छ भने औसत आयु ७१.३ वर्ष रहेको छ । बिमा सहुलियत लिने जनसङ्ख्या बढेको छ भने क्यान्सरको औषधी निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

गरिबी, बेरोजगार र भ्रष्टाचार सामाजिक समस्या भएको सन्दर्भमा रोजगारका अवसरहरू बढाउन सकिएको छैन । जनजीविकाको लागि नेपालमा ७६.८ प्रतिशत परिवारले विप्रेषण प्रयोग गरेको देखिन्छ । कुल प्राप्त विप्रेषणको ७२.४ प्रतिशत दैनिक उपभोगमा १.९ प्रतिशत बचतमा र १.२ प्रतिशत पुँजी निर्माणमा देखिनुले विप्रेषण दीर्घकालीन अवसर नभएको र उत्पादनमूलक कार्यमा खर्च नभएकाले उपभोक्तामुखी संस्कृति बढ्दो देखिन्छ । विप्रेषणमा आधारित अर्थतन्त्रको स्वरूपमा परिवर्तन गर्न ढिला भएको छ । नेपालमा उच्च सम्भावना भएको कृषि, पर्यटन र हाइड्रोमा लगानी गरेर रोजगारका अवसरहरू विस्तार गर्न सकिन्छ । ६२ प्रतिशत जनसङ्ख्या कृषिमा संलग्न भएको परिदृश्यमा कृषिलाई व्यवसायीकरण र यान्त्रीकरण गर्न सकिएको छैन । नेपालमा आयात निर्यात असन्तुलन छ । कुल वस्तु व्यापारमा निकासीको अंश ८.७३ प्रतिशत रहनु र पैठारीको अंश ९१.२७ प्रतिशत रहनुले आयात निर्यात असन्तुलनको विकराल अवस्था देखाउँछ । 

अतः विकासको अन्तर्य मानव विकास भएकाले आर्थिक, भौतिक, सामाजिक सूचकमा लगानी बढाउनुपर्ने देखिन्छ । पुँजीको विकास गर्न नेपालको सम्भाव्यता रहेको कृषि, पर्यटन, हाइड्रो, जडीबुटी र योगलाई सफ्ट साधनको रूपमा विकास गर्नु पर्छ । व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न उत्पादनमा जोड दिनु पर्छ । नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन लागेको सन्दर्भमा दिगो आर्थिक, सामाजिक र मानव विकासमा जोड दिनुपर्ने देखिएको छ ।