• ३२ असार २०८२, बुधबार

रेसुङ्गाको सार्वजनिक सुनुवाइ : सहभागीको गुनासो, सुझाव र जिज्ञासा

blog

गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा सहभागीहरु । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, असार ३२ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका सहभागीहरुले नगरपालिकाका जनप्रतिनिधिसहितका सरोकारवालाहरुसँग गुनासो, सुझाव र जिज्ञासा राखेका छन् । यस नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को हालसम्म भए गरेका सम्पूर्ण प्रगतिको सार्वजनिकसहितको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम नेपाल पत्रकार महासंघ, गुल्मी शाखाको सहजीकरणमा वडा नम्बर–२ स्थित जनज्योति धागीथुम आमा समूहको सभाहलमा गरिएको हो ।

कार्यक्रममा यस नगरपालिकाका विभिन्न वडाबाट आएका नागरिक, सामाजिक अगुवा तथा सरोकारवालाहरूले गुनासो, सुझाव र जिज्ञासा राख्नुभएको हो । वडा नम्बर–२ का स्थानीय गुमानसिंह थापाले वडाका लागि उपलब्ध गराइएको जग्गा वडा कार्यालयको नाममा पास हुन नसकेको गुनासो व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका कामसँगै सेवा प्रवाह गुणस्तरीय नभएको भन्दै गुणस्तर बनाउन आग्रह गर्नुभयो । स्थानीय बसन्त श्रेष्ठले बाघमारे–चेक्मी सडक निर्माणको रकम र जिप पार्क सडकको अवस्थाबारे स्पष्ट पार्न माग गर्नुभयो ।

सोही वडाका स्थानीय रामप्रसाद खनालले १४ वटै वडामा खोलिएका सयभन्दा बढी टोल विकास संस्थालाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । टोल विकास संस्थलाई व्यवस्थिथ गर्न आर्थिक स्रोतको व्यवस्था गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । त्यस्तै अर्का स्थानीय हिमाल कुँवरले पहिरोको जोखिम रहेको बाख्रेछेडा क्षेत्रमा रोकथामका लागि बजेटको माग गर्नुभयो ।

यमबहादुर कुँवरले शारीरिक कसरतका लागि विभिन्न स्थानमा मेसिनको आवश्यकता र प्रतिक्षालयको माग गर्नुभयो । शेरबहादुर थापाले मर्निङ्ग वाकमा रेसुङ्गा जानेहरुका लागि बिहानमा रेसुङ्गा पार्क खुला गर्नुपर्ने माग राख्नुभयो । उहाँले विभिन्न स्थानमा सल्लाको खतरा भएको हुँदा हटाउन जरुरी रहेको बताउनुभयो । सुशीला श्रेष्ठले कार्यालय सहयोगी छनोट प्रक्रियाबारे प्रश्न गर्नुभयो ।

स्थानीय चनक बहादुर कुँवरले सोलार र इलोक्ट्रोनिक तारको सुरक्षामा ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो । विद्युत र वन क्षेत्रका समस्याबारे स्थाानीयहरुले गुनासो राख्नुभयो । त्यस्तै, स्थाानीय गोपाल पन्थी, गीता पन्थी, मिना घर्ती मगर, कमला मरासिनी र मनोज श्रेष्ठ लगायतका सहभागीहरुले आफ्ना गुनासाहरु राख्नुभयो ।

वडाअध्यक्ष हिरा बहादुर थापाले वडा केन्द्रित प्रश्नको जवाफ दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले नगरपालिकाका प्रशासनिक तथा विकास गतिविधिसँगै आगामी योजनाबारे जानकारी गराउनुभयो । त्यस कार्यक्रमका प्रमुख वक्ता नगरप्रमुख खिलध्वज पन्थीले सार्वजनिक सुनुवाइलाई नागरिक उत्तरदायित्वको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उठेका प्रश्नहरूको जवाफ दिनुभयो । उहाँले सधै नागरिकको पक्षमा रहेर नगरपालिकाका विभिन्न गतिविधिहरु अगाडि बढाइएको बताउनुभयो । नगरपालिकाले नागरिकको गुनासो सुनुवाइ र सम्बोधनका लाागि “नागरिकसँग मेयर“ कार्यक्रमलाई सार्वजनिक सुनुवाइ कार्यक्रमसँगै प्रभावकारी ढङ्गबाट अगाडि बढाएको छ ।