गोविन्द शर्मा
बाँके, असार ३१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा केहिपनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै पत्रकारिताले यसलाई सत्यतथ्यरुपमा चिर्न आवश्यक भएको बताउनुभएको छ ।
सार्वजनिक सेवा प्रशारण नेपाल एनटिभि कोहलपुरको २९ औं वार्षिकोत्सव समारोहलाई मङ्गलबार कोहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विगत र अहिलेमा विकास लगायत सम्पूर्ण हिसावले परिवर्तन भएकाले वास्तविकता जनतामाझ ल्याउन राज्यको चौँथो अङ्गको रुपमा रहेको पत्रकारिता जगतले सहयोगी भूमिका निर्वाह गर्न सुझाव दिनुभयो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको छ पत्रकारिता जगत पनि समाज परिवर्तनमा जिम्मेवार बन्नुपर्ने देखिन्छ ।’ उहाँले स्वच्छन्दता र अराजकता पत्रकारिताका लागि पनि हितकर नभएको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा होइन, परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ’हामीले चौथो अंगको रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौं । तर, आज सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति देखिन थालेको छ । यसले समाजमा अराजकता र अस्थिरता थप्न सक्छ । यसकारण मिडियाले सत्य, तथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ ।
प्रदेश सरकार सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै उहाँले पत्रकारिता कल्याणकारी कोष, उपकरण विमा, विद्युत महशुलमा अनुदान, छात्रवृत्ति लगायतका कार्यक्रम अगाडि सारिएको जानकारी दिनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले प्रदेशको समग्र विकासमा सञ्चारमाध्यमको सहकार्य महत्वपूर्ण भएको बताउनुभयो । एनटिभिलाइ सञ्चार क्षेत्रको ब्राण्डको रूपमा बुझ्ने गरिएको बताउँदै उहाँले आगामी बर्षका लागि योजनासहित दोब्बर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमलाइ प्रदेशसभा सदस्य तथा पूर्व मन्त्रीहरु रत्नबहादुर खत्री,दुर्गाप्रसाद चौधरी, भण्डारीलाल अहिर,प्रदेश सभा सदस्यहरु सञ्जु चौधरी, अम्बिका काफ्ले, मिनाकुमारी श्रेष्ठ, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
एनटिभि कोहलपुरका प्रमुख निराजन खनालले स्वागत मन्तव्य दिँदै संस्थाको यात्रा र योगदानबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी, विज्ञापन दाता तथा कार्यक्रम सञ्चालकलाइ सम्मान गरिएको थियो ।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मङ्गलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवद्र्धनमा विशेष जोड दिएको स्पष्ट पार्नुभयो । हाल अस्पतालमा दैनिक २० देखि २५ जना सेवा लिन आउने गरेका छन् । संस्थाका अध्यक्ष नमप्रसाद शर्माका अनुसार यहाँ १ जना चिकित्सक तथा १२ जना उपचारक गरी १३ जना कर्मचारी कार्यरत छन् ।