बेलाैरी समाचारदाता
कञ्चनपुर, असार २७ गते । कञ्चनपुरको बेलौरी नगरपालिकामा कालोपत्रेको काम अलपत्र परेको छ । पालिकामा ‘चक्रपथ’ निर्माण गर्ने भन्दै आठ वर्षपहिले झन्डै ६३ किलोमिटर सडकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो तर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नगरभित्र यात्रा गर्न ‘चक्रपथ’ रोड बनाउने बाचा गरे पनि हालसम्म कार्यान्वयन भएको छैन ।
‘चक्रपथ’ निर्माण गर्ने भन्दै बर्सौं पहिले डिपिआर गरिएको सडक कालोपत्रे नगरिँदा स्थानीयले जनप्रतिनिधिप्रति विश्वास गुम्दै गएको गुनासो गरेका छन् । बेलौरी नगरपालिका–९ जोड्ने ‘चक्रपथ’ सडक अहिले हिलाम्मे अवस्थामा रहेको छ । यात्रा गर्न कठिनाइ हुने गरेको कुण्डाका स्थानीय भरत रानाले गुनासो गर्नुभयो । सडक कालोपत्रे नगरिँदा हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे हुने गरेको भन्दै स्थानीयले यात्रा गर्न कठिन भएको गुनासो गरेका छन् । बेलौरीका स्थानीय चन्द्रबहादुर महराले अहिले बर्सातको समयमा रिङरोड भनेर छुट्याइएको सडकमा यात्रा गर्न कठिन भएको गुनासो गर्नुभयो ।
दैनिक रूपमा, मिल जान, विद्यार्थीलाई विद्यालय पु¥याउन प्रयोग हुने गरेको सडक हिलाम्मेका कारण यात्रा गर्न सकस भएको स्थानीय शङ्कर भारतीले गुनासो गर्नुभयो । आठ वर्ष पहिले बेलौरी नगरपालिकामा पाँच प्याकेजमा रिङरोड निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो । राष्ट्रिय योजना आयोग र नगरपालिकाको साझेदारीमा बेलौरी नगरपालिकाका १० वटै वडा जोड्ने गरेर झन्डै ६३ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरेर डिपिआरसमेत तयार गरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा पहिलो प्याकेज अन्तर्गत वडा नम्बर १, ३, ४ र ५ नम्बर वडालाई जोड्ने गरी ४.७ किलोमिटर र दोस्रो प्याकेजमा गत आवमा ५.३ किलोमिटर गरी १० किलोमिटर रिङरोड सडकको कालोपत्रे पूरा भएको नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बताउनुभयो ।
उपमेयर चौधरीले नगरपालिकाबाट आगामी आवमा सडक कालोपत्रेका लागि सात करोड छुट्याइएकोमा सोही रकमबाट वडा नम्बर ९ मा सडक कालोपत्रे गरिने बताउनुभयो तर रिङरोडका लागि भने बजेट अभाव रहेको उहाँले बताउनुभयो । रिङरोड अन्तर्गत पहिलो प्याकेज पूरा भई दोस्रो प्याकेजमा केही मात्रामा कालोपत्रे गरेर सडक कालोपत्रेको काम बिचैमा रोकिएको नगरप्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।