गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी समावेशी विकासमा आधारित नीति आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा उहाँले जलवायु परिवर्तनको बढी असर कृषक र कृषि उत्पादनमा देखिएकाले यसको यसको न्यूनीकरण गर्न सक्ने नीति ल्याउन सबैको साथ हुनुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तन, जैविक स्रोतको ह्रास, रसायनिक मल तथा विषादीको अवैज्ञानिक प्रयोग जस्ता समस्याले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर असर पारेको पनि कृषिमन्त्री अधिकारीको भनाइथियो ।
उहाँले कृषि प्रणाली जलवायु जोखिमप्रति अत्यन्त संवेदनशील भएकाले हरित कृषि, जैविक खेती, वातावरणमैत्री प्रविधिको प्रवर्धन तथा जलवायु स्मार्ट कृषि प्रणालीको विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । न्यून कार्बन उत्सर्जनमा आधारित कृषि प्रणाली अपनाएर मात्रै दीर्घकालीन खाद्य सुरक्षाको सुनिश्चित गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा वातावरण तथा जलवायु परिवर्तनको नीति तथा अर्थशास्त्र क्षेत्रका विज्ञ अर्जुन ढकालले जलवायु परिवर्तन आर्थिक मुद्दा बन्दै गएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई सङ्कटका रूपमा मात्र नहेरी त्यसलाई अवसरका रूपमा पनि लिनुपर्ने बताउनुभयो ।
“जलवायु परिवर्तनका सबैभन्दा बढी असर खेपिरहेको हिमालय क्षेत्रको मध्यभागमा पर्ने भएकाले जलवायु मुद्दाको नेतृत्व नेपालले लिन सक्छ,” उहाँले भन्नुभयो, “यसले आर्थिक, प्राविधिकलगायत अन्य अवसर पनि सिर्जना गर्छ ।” क्षतिपूर्तिसहितको जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय फोरममा पहुँच र पहल बढाउनुपर्नेमा पनि विज्ञ ढकालको जोड थियो ।
सरकारले हरित अर्थतन्त्रको विषयलाई नीतिगत संरचनामा समावेश गर्न राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६, वातावरण संरक्षण ऐन, २०७६ लगायत विभिन्न नीति, योजना र रणनीतिमा जोड दिएको छ तर जलवायु सङ्कटबाट बढी प्रभावित हुने युवालाई हरित अर्थतन्त्रबारेमा स्पष्ट ज्ञानको अभावमा हरित अर्थतन्त्रमा रूपान्तरण निकै चुनौतीपूर्ण भएको सो कार्यक्रममा सहभागी युवाको गुनासो रहेको थियो ।
सहभागी युवाले हरित अर्थतन्त्र दिगो विकास प्राप्त गर्ने संयन्त्र मात्र नभई यसले आर्थिक स्थायित्व, वातावरणीय दिगोपनाको सुनिश्चित तथा वर्तमान पुस्ताको जीवनस्तर सुधार गर्ने हरित रोजगारीका अवसर हुनुपर्नेमा जोड दिनुभयो ।