• २५ असार २०८२, बुधबार

बाँझो जमिनमा बिरुवा हुर्काउँदै कृष्णदत्त

blog

वन अधिकृत कृष्णदत्त भट्टको नर्सरी र बाख्रा फार्म ।

अमरगढी समाचारदाता

डडेलधुरा, असार २५ गते । कृष्णदत्त भट्ट हाल डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत हुनुहुन्छ । तराईमा जन्मिनुभएका भट्टले आफ्नो बुवाबाजेको थातथलो अजयमेरु गाउँपालिका–३, भद्रपुरनजिकै पल्लीसिरोली भन्ने स्थानमा ठुलो नर्सरी स्थापना गरेर विभिन्न जडीबुटीका बिरुवा हुर्काइ रहनुभएको छ । 

उहाँको नर्सरीमा हाल १५ हजार बोधिचित्तका बिरुवासँगै श्रीखण्ड, रुद्राक्ष, टिमुर, दालचिनी, बकाइनोलगायत गैरकास्ठमा बाँसका बिरुवा हुर्किरहेका छन् । बुवाका पालादेखि बाँझो रहेको जमिनमा उहाँले नर्सरीसँगै अगरउड, बोधिचित्तका सयौँ बिरुवासमेत रोप्नुभएको छ भने ठुलो बाख्राको खोरसमेत बनाई बाख्रापालन गर्दै आइरहनुभएको छ ।  

वर्षमा दुई सय माउ बाख्रा पाल्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । दुई सय माउ बाख्रा पाल्दा एक वर्षमा पाँच सय पाठापाठी बेच्न मिल्ने उहाँले बताउनुभयो । “वर्षमा पाँच सय बाख्रा, पाठापाठी बेच्न पाए राम्रै हुन्छ,” उहाँले भन्नुभयो, “यसको हिसाब जो कोहीले पनि गर्न सक्छ ।” 

बाख्रापालनका लागि विभिन्न जातका १० हजार बिरुवा डाले घाँस रोपेको उहाँले बताउनुभयो । यससँगै मौरीपालनको पनि योजना रहेको उहाँले बताउनुभयो । आँप, लिची, चिउरीलगायत तातो क्षेत्रमा हुने सबै रुखबिरुवा हुर्कने भएकाले मौरीपालनको पनि योजना रहेको उहाँले बताउनुभयो ।  

आजभन्दा ३० वर्षअघि पहिलो पटक आफ्नो पुख्र्याैली घर घुम्न आउनुभएका भट्टले करिब तीन सय रोपनी जमिन एकलौटी भएको थाहा पाए । सो जमिनमा सल्ला मात्रै देखेपछि नर्सरीदेखि अरू काम गर्ने सोच पलाएको उहाँले बताउनुभयो । बाँझो जमिनको सदुपयोग गरौँ भनेर लागिएको हो । उहाँले भन्नुभयो, “यसले अरूलाई पनि सिकाइ हुन्छ ।”