• १९ असार २०८२, बिहिबार

मुस्ताङमा खेती जोगाउन पहिलोपटक विद्युतीय तारबार

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङमा कालो भालुबाट बाली जोगाउन जिल्लामै पहिलोपटक लगाइएको विद्युतीय तारबार । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असार १९ गते ।
मुस्ताङमा पहिलो पटक खेतीयोग्य जमिनमा वन्यजन्तुबाट हुने नोक्सानी रोक्न विद्युतीय तारबार गरिएको छ । जिल्लाको घरपझोङ गाउँपालिका–१ चिमाङमा कालो भालुबाट बाली जोगाउन पाँच सय रोपनी क्षेत्रफलमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, जोमसोमको अर्थिक सहयोगमा विद्युतीय तारबार गरिएको हो ।

दैनिकजसो बस्ती आसपासका क्षेत्रको जङ्गलबाट कालो भालुको बथानले मौसमी तथा बेमौसमी खेतीमा क्षति पुर्‍याउन थालेपछि मानवीय क्षति नहुने गरी सोलारको जडानमार्फत विद्युतीय करेन्ट प्रवाह गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेअन्तर्गत वन व्यवस्थापन उपसमिति चिमाङका सचिव बिबेक विकले बताउनुभयो ।

सचिव विक भन्नुहुन्छ, ‘‘धेरैपटक भालु आउने क्षेत्रमा तारबार गरिएको छ, आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजना छ ।’’ उपसमितिका सचिव विकका अनुसार एकल तथा बथानमा आउने भालुले स्याउ, फापर, मकैलगायत अन्य कृषिजन्य उत्पादनमा क्षति पु¥याउन थालेपछि स्थानीयले आलोपालो रातको समयमा समेत खेतबारीमै बिताउनुपर्ने बाध्यता रहेको थियो ।

यसअघि एक्यापले भालुको आतङ्क रोक्न खेतबारीमै कुरुवा राख्ने गरी एक लाख २० हजार रुपिँया समेत विनियोजन गरेको थियो । एक्याप जोमसोमका रेञ्जर दिपक ओलीले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि सोलारबाट विद्युत् प्रवाह हुने तारबारले मानवीय क्षति नहुने बताउनुभयो ।

उक्त तारबारबाट स्थानीयलाई करेन्ट प्रवाह भएर ज्यान जाने र वन्यजन्तुको स्वास्थ्यलाई असर नपर्ने हिसाबले करेन्ट प्रवाह हुने रेञ्जर ओलीको भनाइ छ । रेञ्जर ओली भन्नुहुन्छ, ‘‘करेन्टको झड्काले वन्यजन्तु खेतीयोग्य जमिनमा पस्न पाउँदैनन्, तारबार नभएका क्षेत्रबाट हुने जोखिमलाई समेत न्यूनीकरण गर्ने उपाय सिकाएका छौं ।’’ यस क्षेत्रमा कालो भालुको बाहेक अन्य जङ्गली जनावरबाट हुने आतङ्कलाई समेत न्यूनीकरण गर्न सकिन्छ ।

उक्त तारबारको प्रयोगले वन्यजन्तुको पनि संरक्षण हुने र खोती बाली पनि नष्ट नहुने एक्यापको दाबी छ । यो प्रविधिको प्रयोग प्रभावकारी भएमा एक्यापले अन्य क्षेत्रमा समेत प्रयोग गर्न सक्ने जनाएको छ । मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा हिमाली कालो भालुको आतङ्कबाट स्थानीय कृषक हैरानीमा छन् । एक्यापले कालो भालु पीडित किसान घरधुरीलाई क्षति राहत समेत दिने गरेको छ ।