गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १३ गते । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका १०२ विद्यालयका १९५ विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको छ । दूतावासले बिहीबार विज्ञप्तिमा जारी गरी विद्यार्थीलाई १३ औँ राजदूत वार्षिक छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ । अध्ययनमा निरन्तर राम्रो प्रदर्शन गरेकोमा एक प्रतिभाशाली विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको उल्लेख गरिएको छ ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पाकिस्तानले विशेष गरी शिक्षाको क्षेत्रमा निरन्तर प्राविधिक सहयोग गरेकोमा प्रशंसा गर्नुभयो ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले पाकिस्तानले अध्ययन, खेलकुद र स्वास्थ्य सामाजिक गतिविधिका क्षेत्रमा नेपाली युवालाई प्रोत्साहन गर्नु द्विपक्षीय सहयोगको एक महत्वपूर्ण भाग भएको पनि बताउनुभयो । पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको जनाइएको छ ।