नेपालमा बैङ्क तथा वित्तीय संस्थाको औपचारिक विकासको यात्रा करिब नौ दशक लामो छ । प्रारम्भदेखि नै ढड्डा प्रणालीबाट अगाडि बढ्दै आएको वित्तीय प्रणाली करिब साडे चार दशकसम्म उस्तै गतिमा अगाडि बढिरहेको छ । आर्थिक उदारीकरणको लहरसँगै ४० को दशकपछि निजी क्षेत्रका बैङ्क स्थापना पछि बैङ्किङ कारोबारमा कम्प्युटर प्रणालीको सुरुवात हुन थाल्यो । करिब ५० को दशकपछि सूक्ष्म रूपमा सरकारी स्वामित्वका बैङ्कहरूमा कम्प्युटर प्रणाली सुरु हुँदै ६० को दशक पूरा गर्दा पूर्ण रूपमा कम्प्युटर प्रणालीबाट आफ्ना कारोबार सञ्चालन गर्न थालियो । पछिल्लो समयको बैङ्किङ प्रणालीलाई हेर्ने हो भने प्रविधिमैत्री वित्तीय प्रणालीका रूपमा सञ्चालन भइरहेको छ ।
वित्तीय प्रणालीका सन्दर्भमा विगतलाई फर्केर हेर्दा लेजर (ढड्डा) प्रणालीमा रहेका कमीकमजोरीको उपयोग, कर्मचारीको स्वार्थ, अनियमित कारोबार, कागजातको दुरुपयोग, कमजोर नियन्त्रण प्रणाली, नियामक निकायको असक्षमतालगायतका पक्षले वित्तीय प्रणालीभित्र ठुलो समस्या देखा पर्न गयो । ती बैङ्कहरूलाई समयमा वित्तीय उपचार गर्न नेपाल सरकारसँगै नेपाल राष्ट्र बैङ्कको पहल कदमीका कारण आज प्रतिस्पर्धात्मक वित्तीय बजारमा सफल खेलाडीको रूपमा आफूलाई स्थापित गरिरहेका छन्, सरकारी स्वामित्वका बैङ्कले । सुरुवातको समयमा ढड्डा प्रणालीबाट सञ्चालन भएका कारोबारमा देखिएका जोखिमका प्रकृति र पछिल्लो समय प्रविधिमा सञ्चालित कारोबारमा देखिएका जोखिमका प्रकृति स्वाभाविक रूपमा फरक हुने नै भयो । बैङ्क तथा वित्तीय संस्थाले गर्ने व्यवसाय भनेको जोखिमको व्यापार हो । हरेक व्यवसायमा जोखिम तत्व रहेको हुन्छ भने बैङ्किङ व्यवसाय त जोखिमको व्यापार गर्ने व्यवसाय भएका कारण अझ बढी जोखिम तìव रहनेमा दुईमत छैन । जोखिमले घेरिएको बैङ्क तथा वित्तीय संस्थाको कारोबारलाई जोखिम व्यवस्थापन गर्ने विभिन्न किसिमका सुरक्षा रेखाको व्यवस्था गरिएको हुन्छ । जसलाई पहिलो सुरक्षा रेखा, दोस्रो सुरक्षा रेखा र तेस्रो सुरक्षा रेखा आन्तरिक रेखा परीक्षण भनेर नामाकरण गरिएको छ ।
व्यावसायिक एकाइ
व्यावसायिक एकाइ जो पहिलो सुरक्षा रेखाको रूपमा रहन्छ, जसले व्यावसायिक क्रियाकलाप सञ्चालन गर्ने क्रममा विभिन्न किसिमका ऐन, निर्देशिका नीति नियम, प्रक्रिया अवलम्बन गर्दै संस्थागत उद्देश्य हासिल गर्न तत्पर रहन्छन् । संस्थागत उद्देश्य हासिल गर्न सञ्चालन हुने कारोबारमा विभिन्न किसिमका त्रुटि मानवीय, प्रविधिगत, प्रक्रियागत, आन्तरिक तथा बाह्य वातावरणबाट हुने क्षति, प्रणालीगत जोखिम, प्राकृतिक प्रकोपबाट हुने जोखिमलगायतका विविध प्रकारका जोखिम व्यवस्थापनको काम अगाडि बढाइरहेका हुन्छन् । जोखिम न्यूनीकरणका लागि विभिन्न किसिमका क्रियाकलापमध्ये संरचना, तहगत प्रणली, कर्मचारीमा दिइने अख्तियारी, चेकर र मेकरको व्यवस्थालगायतको विषय आफ्नो तहमा सक्दो व्यवस्था रहेको हुन्छ । यति हुँदाहुँदै पनि कामका प्रक्रियाभित्र रहने विभिन्न चरणमा हुने कमीकमजोरीका कारण कर्मचारीमा आचारसंहिता उल्लङ्घनका कारण, प्रविधिमा भएको कमीकमजोरी तथा प्रविधिको दुरुपयोगका कारण कमजोर सुरक्षा व्यवस्थाका कारण, विभिन्न किसिमका जोखिम बाह्य आक्रमण तथा चोरी डकैतीका कारण जोखीम आकार्षित हुने गर्छ ।
व्यावसायिक युनिट अन्तर्गत रहने बैङ्क तथा वित्तीय संस्थाको व्यवस्थापन समिति, विभिन्न किसिमका प्रदेश कार्यालय, शाखा कार्यालयका क्रियाकलाप चुस्त दुरुस्त रूपमा सञ्चालन हुन नसक्दा जोखिम व्यवस्थापनको पाटो कमजोर रहने गरेको देखिन्छ । संस्थाका आन्तरिक नीति नियम, प्रक्रिया साथै नियामक निकायका निर्देशनको पूर्ण रूपमा पालना गर्नुपर्नेमा गर्न नसक्दा पहिलो सुरक्षा रेखा कमजोर भएको मानिन्छ ।
जोखिम तथा अनुपालना विभाग
बैङ्क तथा वित्तीय संस्थाको दोस्रो सुरक्षा रेखाको रूपमा रहेका जोखिम तथा अनुपालना विभाग रहेका हुन्छन्, जुन विभाग सङ्गठनात्मक संरचनाभित्र स्वतन्त्र रूपमा काम गर्छन् । व्यावसायिक युनिटभन्दा फरक ढङ्गबाट जोखिम व्यवस्थापनका क्रियाकलाप सञ्चालन हुन्छन् । व्यावसायिक युनिटले गर्ने कामको बारेमा सञ्चालक समितिलाई रिपोटिङ गर्ने काम भइरहेको हुन्छ । वित्तीय कारोबार सञ्चालन भइरहँदा विधि र प्रक्रियागत रूपमा भएका छन् छैन र भएका कारोबारबाट जोखिम के के छन् भनी पहिचान गर्ने, जस्तै कर्जा जोखिम, सञ्चाालन जोखिम, कानुनी, प्राविधिक आदिको पहिचान गर्न सक्नु पर्छ । यस्तै क्रममा जोखिमको सम्भाव्यता र त्यसको असर के हो भनेर मूल्याङ्कन गर्नु पर्छ । जोखिम न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउने जस्तै जोखिम हटाउने, घटाउने, ट्रान्सफर गर्ने तथा स्वीकार गर्ने भन्नेतर्फ लाग्नु पर्छ । निरन्तर अनुगमन गर्ने उपाय प्रभावकारी छन्, छैनन् भन्ने जाच्ने र आवश्यक परे सुधार गर्ने काम जोखिम व्यवस्थापन विभागको रहन्छ । बैङ्क तथा वित्तीय संस्थामा रहेको अनुपालना विभागले वित्तीय संस्थाले अवलम्बन गर्ने विधि प्रक्रियासँगै नियामक निकायलाई निरन्तर रिपोर्टिङ गर्ने कार्य गर्छन् । आजका दिनमा कतिपय वित्तीय संस्थाले नियामक निकायको कारबाही गरेका उदाहरण प्रशस्तै देखिन्छन् । कम्प्लायन्स कमजोर रहनु भनेको सुशासन कमजोर रहनु हो । जहाँ कम्प्लायन्स सबल रहन्छ, संस्थागत स्थायित्व रहन्छ ।
आन्तरिक लेखा परीक्षण
आन्तरिक लेखा परीक्षण पूर्ण रूपमा स्वतन्त्र रहन्छ र सञ्चालक समितिको मातहतम रहन्छ । जसरी पहिलो र दोस्रो लाइनको काम भनेको मूल्याङ्कन गर्ने र नियन्त्रण प्रणाली ठिक छ, छैन भन्ने सुनिश्चित गर्ने रहेको हुन्छ भने यस लाइनको भूमिका कमीकमजोरीलाई सुधार गर्नु रहेको हुन्छ । आन्तरिक लेखा परीक्षणको योजना तयार गर्ने, लेखा परीक्षण सञ्चालन गर्ने, प्रतिवेदन तथार गरी व्यवस्थापन समितिलाई दिने, सुधार कार्यान्वयन जाँच गर्ने, स्वतन्त्र रूपमा सञ्चालक समिति स्तरको अडिट कमिटी साथै फुल समितिलाई रिपोर्ट गर्नु रहको हुन्छ ।
बैङ्क तथा वित्तीय संस्थामा रहेका यी तीन सुरक्षा रेखा कमजोर बने भने संस्थाको दीर्घकालसम्मको यात्रा लत्रिन पुग्छ । जोखिम व्यवस्थापनका सन्दर्भमा छुट्याइएका सुरक्षा रेखा आफ्नो तहमा काम गर्न सक्ने हो भने जोखिम व्यवस्थापनको पाटो सबल बन्छ । सुरक्षा रेखा जसरी काम गर्नुपर्ने हो, सोहीबमोजिम काम गर्न नसक्दा बैङ्क तथा वित्तीय संस्थामा विभिन्न खालका समस्या देखिन पुग्छन् । आर्थिक हिनामिना, कमजोर सुशासन, अनियमितता, बैङ्किङ, कसुरजन्य आपराधिक घटनाक्रम देखिन पुग्छन् । पछिल्लो समय आव २०८१/८२ को तेस्रो त्रयमासमा मात्रै बैङ्क सुपरिवेक्षण विभागले इजाजतपत्रप्राप्त क वर्गका बैङ्क, बैङ्कका अध्यक्ष, सञ्चालक समिति र प्रमुख कर्मचारी अधिकृतलाई कारबाही स्वरूप सचेत नसिहत र जरिबाना लगाएको छ ।
उल्लिखित सुरक्षा रेखा बैङ्क तथा वित्तीय संस्थाका जोखिम व्यवस्थापन गर्ने सुरक्षा रेखाका रूपमा रहेका छन् । पहिलो तथा तेस्रो सुरक्षा रेखा प्रारम्भदेखि नै रहेको भए पनि दोस्रो सुरक्षा रेखाको महत्व बैङ्क तथा वित्तीय संस्थाको विकास क्रममा आएको देखिन्छ । समयको क्रमसँगै दोस्रो तथा तेस्रो सुरक्षा रेखालाई स्वतन्त्र रूपमा काम गर्न सकिने व्यवस्था नियामक निकाय नेपाल राष्ट्र बैङ्कको निर्देशनमार्फत व्यवस्था गरिएको छ । नियामकीय निकायको मुख्य उद्देश्य भनेको आफू मातहतका संस्थामा सुशासन कायम गर्नु, कारोबार चुस्तदुरुस्त बनाउनु, जुन लक्ष्यका लागि स्थापना गरिएको हो सो अनुसारको काम अगाडि बढाउनु, वित्तीय सेवा उपलब्ध गराउनु र समग्रतामा अर्थतन्त्रको विकासमा टेवा पु¥याउनु रहेको हुन्छ ।
बैङ्क तथा वित्तीय संस्था सर्वसाधारणको निक्षेप स्वीकार गरी मागेको बखत फिर्ता दिने सर्तमा सञ्चालित भएका हुन्छन् । बैङ्क तथा वित्तीय संस्था सर्वसाधारणको एजेन्टका रूपमा काम गर्छन् भन्ने गरिन्छ । यस अर्थमा पनि जोखिम व्यवस्थापनको पक्ष कमजोर हुनु हुँदैन भन्ने हो । जोखिम व्यवस्थापनका पक्षलाई बलियो बनाउन नियामक निकायद्वारा तय भएका तीन वटा सुरक्षा रेखाले ठिक ढङ्गबाट खुट्टा टेक्ने हो भने आजका दिनमा बैङ्क तथा वित्तीय संस्थामा रहेको जोखिमको मात्रा धेरै हदसम्म कम हुने निश्चित छ । जोखिम व्यवस्थापन लागि उभिएका उल्लिखित सुरक्षा रेखा आजका दिनमा यिनको प्रयोगको अवस्थालाई विश्लेषण गर्ने हो भने हुनुपर्ने के थियो ? र के भएको छ ? छर्लङ्ङ बुझ्न सकिन्छ ।
उपसंहार
समयको बदलिँदो क्रमसँगै वित्तीय प्रणालीको आकार, प्रकार र कारोबारमा ठुलो परिवर्तन आएको छ । पुरानो शैलीमा सञ्चालन हुँदै विकसित भएको वित्तीय प्रणाली बदलिँदो प्रविधि, जोखिमको व्यवस्थापनसँगै प्रतिस्पर्धामा खरो उत्रन हम्मे हम्मे परेको आभास गर्न सकिन्छ । बैङ्क वित्तीय संस्था अर्थतन्त्रका आधारस्तम्भ हुन् भन्दै गर्दा यिनै बैङ्क वित्तीय संस्थाको लगानी बढिरहँदा आयात बढिरहने, लगानीको ब्याजदर न्यून रहँदा माग कम हुनु, ब्याजदर उच्च रहँदासमेत कर्जाको वृद्धि दोहोरो अङ्कमा रहनु, खराब कर्जाको अनुपात बढिरहनु, कर्जामा एभरग्रिनिङ हुनु, पारदर्शी मानिने वित्तीय क्षेत्रमा कारबाहीका हथकण्ड प्रयोग गर्न नियामक निकाय बाध्य हुनुपर्ने स्थिति सिर्जना हुनु भनेको बैङ्क तथा वित्तीय संस्थामा रहेका तीन सुरक्षा रेखा कमजोर रहेका छन् भन्ने बुझ्न सकिन्छ । यसर्थ यी सुरक्षा रेखाले आफ्नो भूमिका चुस्त दुरुस्त रूपमा निभाउन सक्ने हो भने वित्तीय क्षेत्रभित्रका बैङ्क तथा वित्तीय संस्था सबल बन्ने छन् । वित्तीय प्रणालीको ऐनाको रूपमा रहेका वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापनका माध्यमबाट समग्र अर्थतन्त्रको विकासका सम्भावनाको मार्ग प्रसस्त हुने आशा गर्न सकिन्छ ।