काठमाडौँ, असार ९ गते । नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिनुभयो ।
डा.बुढाथोकीका अनुसार जेठ २२ देखि २९ गतेसम्म पिसिआर विधिबाट कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब भेरिएन्ट पुष्टि भएका हुन् ।
उहाँ भन्नुहुन्छ, “नेपालमा पुष्टि भएको ओमिक्रोनको नयाँ पुस्ता हो । पुष्टि हुनेमा सात वटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी, एउटामा एक्सएफजी ३.१ र दुई वटामा जेएन १ रहेको छ ।”
ओमिक्रोनको सब भेरिएन्ट कोभिड १९ गराउने सार्स कोभ २ भाइरसको ओमिक्रोनको विकसित रुप हुुन् । भाइरस लगातार अनुवंशिक रुपमा परिवर्तन –म्युटेट)भइरहन्छ । यस्ता भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ ।
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका सबभेरिएन्ट सङ्क्रामक भए पनि घातक नभएको उल्लेख गरेको छ ।
नेपालमा पछिल्लो समय पुनः कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने क्रम बढ्दो छ । विशेषगरी भारतबाट फर्किनेमा कोरोना पुष्टि हुने गरेको छ । डा.बुढाथोकीका अनुसार सिमा नाकामा रहेका हेल्थ डेक्समा आरडिटी परीक्षण गर्दा भारतबाट फर्किनेमा कोरोना पुष्टि हुने क्रममा बढ्दै गएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा पुस यता २५ जिल्लाबाट १६७ कोरोना भाइरसका केस पुष्टि भएका छन् । कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमतीमा १३१, कोशीमा चार, मधेशमा पाँच, गण्डकीमा तीन र सुदूरपश्चिम प्रदेशमा २१ जना छन् ।
सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार रुघा/खोकी लाग्ने, आलश्य हुने, घाँटी, मांशपेशी, जिउ दुख्ने, नाक बन्द हुने, डाइरिया हुने ज्वरो आउने यो भाइरसका प्रमुख लक्षण हुन् । हाछ्यु गर्दा, सिगाँन, थुकको छिटा, खकारको माध्येमबाट यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।
ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबलिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता भएका मानिस कोरोनाको जोखिममा हुने हुँदा सचेत रहन चिकित्कको सुझाव छ ।
माक्सको प्रयोग गर्ने, हातधुने, खोप लगाउने लक्षण देखिएमा आइसोलेसनमा बस्दा रोग फैलनबाट बच्न सकिने डा.पुन बताउनुहुन्छ ।
नेपालमा कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले तीन वटा हवाई र १७ वटा स्थलगत सिमा नाकामा रहेका डेक्स निगरानीलाई प्रभावकारी बनाएको डा.बुढाथोकीको भनाइ छ ।